
राजविराज । अर्काको नागरिकतामा आफ्नो तस्बिर टाँसेर ठगी गरेको आरोपमा सप्तीमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका–१२ घर भई हाल वडा नं ५ बस्ने २८ वर्षीय अभिषेक यादव र २० वर्षीय अरुणकुमार यादव रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
उनले विसं २०८० असारमा अर्को व्यक्तिको नागरिकता भेटेपछि दुवै जनाले मिलेमतोमा त्यसको दुरुपयोग गरी ठगी गरेको आरोपमा पक्राउ गरिएको बताए । नागरिकतामा आरोपितमध्ये अरुणको फोटो टाँसेर विराटनगरस्थित सिटिजन्स बैङ्कमा खाता खोली अन्य व्यक्तिहरूबाट लाखौँ रकम ठगी गरिरहेको खुल्न आएपछि पक्राउ गरिएको उनले बताए ।
दुवै जनाविरुद्ध नागरिकतासम्बन्धी कसुर र ठगीमा जाहेरी परेको र अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।














