काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा अच्युुतप्रसाद वाग्लेले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा उपकुलपति डा वाग्लेले शपथ लिनुभएको हो । प्रधानमन्त्री ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिको सिफारिसका आधारमा प्रा डा वाग्लेलाई सो विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ (४) बमोजिम सोमबार नियुक्त गरीएको हो ।
प्रधानमन्त्री ओलीले उपकुलपति नियुक्तिमा हुन पुगेको ढिलाइको सन्दर्भसमेतलाई ध्यान दिएर आगामी दिनमा सजगताका साथ सम्बन्धित सबै पक्षको साझा विश्वविद्यालय बनाउने गरी काम अघि बढाउन शुभकामना दिए ।
त्यस अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रधानमन्त्रीका मुुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्यसचिव एकनारायण अर्याल, शिक्षा मन्त्रालयका सचिव डा दीपक काफ्लेलगायत सहभागी थिए ।














