Logo
Logo

सञ्चारमन्त्रीद्वारा कतार र इस्टोनियाका समकक्षीसँग सूचना प्रविधिमा सहकार्य गर्ने विषयमा छलफल


0
Shares

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कतार र इस्टोनियाका समकक्षीसँग सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका छन् । 

The current image has no alternative text. The file name is: sanchar-mantri.jpg

अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को सन् २०२६ को महासम्मेलन (आइटियु पीपी–२६) मा सहभागी हुन कतारको दोहा पुगेका मन्त्री तिमिल्सिनाले कतारका सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहम्मद बिन अली अल मन्नाईसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको नेपाली राजदूतावास, दोहाद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टरमा आयोजित सम्मेलनका अवसरमा भएको भेटमा मन्त्री तिमिल्सिनाले गत अगस्ट २६ मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री उपलब्ध गराएकोमा कतार सरकारप्रति आभार व्यक्त गरे ।

उहाँले सन् २०२४ अप्रिलमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले गर्नुभएको नेपालको राजकीय भ्रमणको स्मरण गर्दै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र दीर्घकालीन मित्रताको चर्चा गरे । साथै, नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव नजिकिँदै गरेकोमा खुसी व्यक्त गरे ।

नेपालजस्तो भौगोलिक विविधता भएको मुलुकका लागि दूरसञ्चार क्षेत्रको महत्त्व उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले यस क्षेत्रमा कतारले हासिल गरेको प्रगतिको प्रशंसा गरे । भेटमा दुई देशबीच सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा सहकार्यका सम्भावना र अवसर विस्तार गर्ने विषयमा छलफल भएको विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी, मन्त्री तिमिल्सिनाले इस्टोनियाका न्याय तथा डिजिटल मामिलामन्त्री लिसा–लि पाकोस्टासँग पनि छुट्टै द्विपक्षीय भेटवार्ता गरेका हुन् । भेटमा उनले प्रविधि विकास र डिजिटल रूपान्तरणका क्षेत्रमा इस्टोनियाले हासिल गरेको अनुभवबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताए । दुवै पक्षले दूरसञ्चारसहित सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्ने विषयमा विचार आदानप्रदान गरे ।

आइटियु पीपी–२६ सम्मेलनका क्रममा विभिन्न द्विपक्षीय भेटवार्ता तथा अन्य महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुनुभएका मन्त्री तिमिल्सिना आज राति दोहाबाट काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाली राजदूतावास, दोहाले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000