Logo
Logo

प्रहरीले आफूलाई घरमै नजरबन्द गरेको सोनम वाङ्चुकको आरोप


0
Shares

काठमाडौं । भारतका जलवायु अभियन्ता सोनम वाङ्चुकले प्रहरीले आफूलाई घरमै नजरबन्द गरेको आरोप लगाएका छन् । बिहीबार राति भिडियो सार्वजनिक गर्दै उनले आफ्नो घरबाहिर ठूलो सङ्ख्यामा प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको तथा घरबाट बाहिर निस्कन नदिइएको बताएका छन् । तर लद्दाख प्रहरीले भने यो नजरबन्द नभई निर्वाचनका क्रममा लागू गरिएको निषेधाज्ञाको पालना मात्रै भएको जनाएको छ ।

The current image has no alternative text. The file name is: sonam-.jpg

लद्दाखमा आगामी डिसेम्बर ४ मा हुने पहाडी विकास परिषद्को निर्वाचन जाडो मौसममा नगर्नुपर्ने माग गर्दै वाङ्चुकसहित विभिन्न सङ्गठनले विरोध गरिरहेका छन् । डिसेम्बरमा तापक्रम माइनस १५ देखि २५ डिग्रीसम्म झर्ने र धेरै स्थानीय बासिन्दा जाडो छल्न अन्य क्षेत्रमा जाने भएकाले निर्वाचन अप्रिल-मे २०२७ मा सार्नुपर्ने उनीहरूको माग छ । निर्वाचन क्षेत्र निर्धारणमा समेत पर्याप्त छलफल नगरी हतारमा निर्णय गरिएको भन्दै विरोध भइरहेको छ ।

प्रहरीले एक दिनअघि प्रदर्शनस्थलबाट वाङ्चुकलाई हटाएर उनको घर पुर्‍याएको थियो । सञ्चारमाध्यमका अनुसार उनलाई ६० दिनसम्म लेह आउजाउमा प्रतिबन्ध लगाउने आदेशसमेत जारी गरिएको छ । वाङ्चुकले शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन रोक लगाइएको विषयमा अदालत जाने बताएका छन् । 

उनले सन् २०२५ सेप्टेम्बर २४ मा भएको हिंसात्मक घटनासम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेका छन् । लद्दाखलाई पूर्ण राज्यको मान्यता दिनुपर्ने मागसहित भएको आन्दोलनका क्रममा गत वर्ष सेप्टेम्बर २४ मा हिंसा भड्किँदा चार जनाको मृत्यु भएको थियो भने ८० भन्दा बढी आन्दोलनकारी र ३० सुरक्षाकर्मी घाइते भएका थिए । यसपटक डिसेम्बर ४ मा लद्दाखका आठ जिल्लामा पहिलोपटक आठवटा स्वायत्त पहाडी विकास परिषद्का लागि निर्वाचन हुँदै छ । मतदान बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ भने मतगणना डिसेम्बर ८ मा हुने तय गरिएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000