Logo
Logo

स्ववियु निर्वाचनमा विद्यार्थी सङ्गठनको झेल: जहाँ हार्ने देखियो, त्यहाँ ताला ठोकियो !


882
Shares

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेतृत्वको लागि मतदान जारी छ । 

विहान ८ बजेदेखि ४६ आङ्गिक र ​सम्बन्धनप्राप्त २५० क्याम्पसमा निर्वाचन जारी रहेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए।

मतदान अपराह्न ४ बजेसम्म हुनेछ । काठमाडौं उपत्यका र उपत्यका बाहिरका केही मुख्य क्याम्पसमा चुनाव स्थगित भएको छ । तर जहाँ विद्यार्थी सङ्गठनहरूले हार्ने सम्भावना देखियो त्यहाँ भने उनीहरूले क्याम्पसमा तालाबन्दी गरेका छन् । जस कारण ती क्याम्पसमा निर्वाचन प्रकृया रोकिएको छ।

काडमाडैका आरआर क्याम्पस, त्रिचन्द्र क्याम्पस, पद्मकन्या, विश्वभाषा, अस्कल, ल क्याम्पस, सरस्वती क्याम्पस, पब्लिक युथ क्याम्पस र शंकरदेव क्याम्पसमा चुनाव रोकिएको छ ।

एमालेनिकट अनेरास्ववियुले मध्यरातमा आरआर क्याम्पसमा ताला लगाएपछि निर्वाचन रोकिएको हो । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले भने निर्वाचन गराउनुपर्ने माग राख्दै प्रदर्शन गरिरहेको छ ।

प्रवेशद्वारमै विद्यार्थी संगठनले ताल्चा लगाएपछि त्रिचन्द्र क्याम्पसमा पनि निर्वाचन रोकिएको छ । ताला लगाउने नेविसंघबाट स्ववियुका उम्मेदवार रहेका छन् । नेविसंघबाट स्ववियु सभापति पदका उम्मेदवार विवेक बानियाँ समूहले क्याम्पसमा ताला लगाएको हो । 

त्यस्तै, अनेरास्ववियुले कान्तिपुर इन्जिनियरिङ कलेजमा पनि ताला लगाएपछि अहिले चुनावी प्रक्रिया रोकिएको छ । चुनावी प्रकृया रोकिएपछि यता माओवादीनिकट अखिल क्रान्तिकारीले भने छिटो चुनावी प्रक्रिया अगाडि बढाउन माग गरेको छ।

सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ । निमित्त क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना टाँस गरेर निर्वाचन स्थगित गरिएको जानकारी दिएका छन् । सोमबार आह्वान गरिएको बैठकमा केही विद्यार्थी संगठन अनुपस्थित भएकाले निर्वाचन स्थगित गरिएको सूचनामा उल्लेख छ ।

त्यस्तै लैनचौरमा रहेको अमृत साइन्स क्याम्पसमा आज सम्पन्न हुने भनिएको स्ववियू निर्वाचन स्थगित भएको छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएर पनि क्याम्पस प्रवेश गर्ने मुख्यद्वारमै तालाबन्दी भएका कारण निर्वाचनको माहोल नभएको निर्वाचन अधिकृत डा. अंगदमणि गौतमले बताए ।

पृथ्वीनारायण क्याम्पस, पोखरामा आज तय गरिएको स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित गरिएको छ । अब निर्वाचन कहिले सञ्चालन हुने भन्नेबारे निर्णय भइसकेको छैन।

त्यस्तौ पाँच विद्यार्थी संगठनले वीरेन्द्र बहुमुखी क्याम्पसलगायत चितवनका विभिन्न पब्लिक क्याम्पसहरूमा तालाबन्दी गरेपछि निर्वाचन रोकिएको छ।

वीरेन्द्र बहुमुखी क्याम्पसका अनुसार उम्मेदवारको मनोनयन र मतदाताको अन्तिम नामावलीसमेत प्रकाशन भइसकेको अवस्थामा चैत २ गतेका दिन ५ विद्यार्थी संगठनले वीरेन्द्र बहुमुखी क्याम्पसलगायत चितवनका विभिन्न पब्लिक क्याम्पसहरूमा तालाबन्दी गरी सिर्जित असहज परिस्थितिमा क्याम्पसले सम्पादन गर्दै आइरहेको निर्वाचनको अन्तिम चरणका कार्यक्रमहरू स्थगन भएका छन् ।

यस्तै, ललितपुरको पाटन संयुक्त क्याम्पस र कालिकोटको नन्दादेवी क्याम्पसमा पनि ताला लागेपछि स्ववियु निर्वाचन स्थगित भएको छ । अन्य क्याम्पसहरूमा पनि हार्ने सम्भावना देखिएपछि विभिन्न पार्टीनिकट विद्यार्थी सङ्गठनहरूले क्याम्पसमा ताला लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्