Logo
Logo
दृष्टिकोण

‘हिन्दू राष्ट्र’ले संकट टर्ला ?


डा. दीपेश केसी

1k
Shares

धोबीले चाहँदैमा घाम लाग्दैन । यो उखान नेपाली राजनीतिमा खुबै मिल्छ । अहिले देशमा कसैलाई राजतन्त्र चाहिएको छ त कसैलाई गणतन्त्र जोगाउनुपरेको छ । यी दुवै कसैको चाहनामा आउने र टिक्ने तन्त्र होइनन् । युद्धका सारा नियमहरू उल्लंघन हुँदै जान्छन् मुठभेडमा । प्रोपोगान्डा त बलियो हतियार भइहाल्छ । गणतन्त्रवादी हुन् या राजावादी नै किन नहुन् प्रोपोगान्डा त मच्चिएकै छ मूलधारका मिडिया देखि सामाजिक सञ्जालसम्म । जतिसुकै अतिरञ्जित र कपोकल्पित हल्ला फैलाएपनि सत्य आखिर सत्य नै हुन्छ ।

देश र जनताले चाहेको परिवर्तन एक दिन पूरा भइछाड्छ । राणा शासन अन्त, पञ्चायतकालको अन्त देखि संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना एउटा कालखण्डमा भइछाडेको जर्बजस्त परिवर्तन नै हो । भविष्यमा अर्को परिवर्तन रोक्ने सामथ्र्य शासन सत्तामा पकड बनाएकाहरूमा सधैँ रहिरहँदैन ।

सामाजिक अवस्था, राजनीतिक परिवेश र विश्व व्यवस्थाले परिस्थिति टिक्छ र बदलिन्छ । नेपाली समाज समयको रफ्तारमा निरन्तर अगाडि बढिरहेको छ । कसैलाई राष्ट्रपति या प्रधानमन्त्री बनिरहन समयको चाल रोकिँदैन । राजावादीले चाहँदैमा पनि राजा फर्कने भइहाल्दैन । परिस्थिति कसको प्रतिकूल र अनुकूल छ भन्ने चासो सर्वत्र छ । सत्तामा गणतन्त्रवादी रहेपनि उनीहरूप्रति जनआक्रोश बढ्दो छ । शासकको दायित्व देशको शान बढाउने देखि जनताको जिऊज्यान र धनको सुरक्षा गर्नु नै हो ।

यी सबैमा चुकेका नेताहरूप्रतिको आक्रोश व्यवस्थाप्रतिकै असन्तुष्टिमा बदलिँदै गएको छ । कुनै बेला राजा र राजपरिवारका सदस्यलाई विदेशमा पैसा जम्मा गरेको आरोप लगाउनेहरूको विदेशमा घूस लेनदेन गरी धन लुकाएको विषय छिपेको छैन । अख्तियारले नै घूसको लेनदेन दुबई र सिंगापुरमा हुनथालेको भनेबाट त्यस्तो लेनदेन सत्ताको साँचो लिएकाहरूको भूमिकाविना सम्भव छैन । बजारमा पैसा छैन कहाँ गयो पैसा भनेर खोज्दा विदेशमा शयर गरिरहेको छ ।

२५ करोड बराबरको विदेशी मुद्रा गैरकानूनी तरिकाले विदेशिन लागेको घटनाले अर्को तथ्य छर्लङ्ग पारिदिएको छ । कर छल्ने, विद्युतको महशुल नतिर्नेहरुले नै सरकार ढाल्ने र बनाउने गर्दै आएका छन् । अनि देशमा आक्रोश चुलिने नै भयो । षड्यन्त्रको तानाबाना बुनेर आक्रोशलाई क्षणभर दबाउन सकिएला तर विस्फोट भयानक हुन्छ भन्ने २००७, २०४६ र २०६३ सालको घटनाले देखाइसकेको छ । अब २०८२ साल आउँदै छ । खतराको घण्टी बजेको बज्यै छ । अब हुन्छ के त ?

बहुसंख्यक मानिसहरुमा देशको परिस्थिति राजसंस्था फर्कने अनुकूल परिस्थिति रहेको ठम्याई देखिन्छ । बाह्य परिस्थिति पनि अनुकूल रहेको विश्लेषण नभएको होइन । विशेषगरी भारतले पूर्वराजालाई भित्र भित्र समर्थन गरेको भन्नेहरू पनि छन् ।

राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईँ त हाक्काहाक्की यही भन्न थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले भ्रमणको निम्तो नदिनु देखि परराष्ट्रमन्त्री आरजु देउवाको दिल्ली दौडाहाको सन्देश उनीहरूको अनुकूल देखिएको छैन । त्यसो त राजावादीहरूलाई पनि दिल्लीले साथ दिइहालेको देखिँदैन ।

योगी आदित्यनाथको तस्बिर राजावादीको आन्दोलनमा बोकेको देख्दा गणतन्त्रवादीको कोकोहाल मात्र सुनियो । न त गणतन्त्रवादी न त राजावादीप्रति भारतको संस्थापन पक्ष सकारात्मक देखिन्छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले चाइना कार्ड प्रयोग गरेको चर्चा उतिबेला निकै चलेको थियो सार्क शिखर सम्मेलनको दौरान । त्यस्तो कार्ड ओली र प्रचण्डहरूले पनि बेला बेलामा फाल्ने गरेका छन् । त्यसकारण पनि भारत कसैप्रति पूर्णत विश्वस्त हुन नसकेको देखिन्छ अहिले । बलिया देशका लागि विरोध या समर्थनले कुनै अर्थ राख्दैन बरु उसका आफ्नै स्वार्थ हुन्छन् जसलाई पूरा गर्न लागिरन्छन् । भारतले पनि गर्ने त्यही हो ।

नेपालको राजनीतिमा जतिसुकै भारतको विरोध गरेपनि टाठाबाठाहरु दौडाहा गर्ने र चासो राख्ने दक्षिण नै हो । कुनै बेला भारतमै लामो समय भूमिगत बसेका माओवादी अध्यक्ष प्रचण्डले त भारतसँग सुरुङयुद्ध नै भनेका थिए । एमालेभित्र प्रतिपक्षी नेता बन्दा दिल्ली दौडाहाको रेकर्ड तोड्ने केपी शर्मा ओली नै थिए । उपचारको बहानामा गिरिजाप्रसाद कोइराला त पटक पटक दिल्ली गइरहन्थे ।

शेरबहादुर देउवाको प्रतिनिधि बनेर आरजु राणाको दिल्ली आवतजावत् कति हुन्थ्यो हुन्थ्यो । परराष्ट्रमन्त्री भइसकेपछि उनी तीनपटक गरी झण्डै एक महिना दिल्ली बसाइँ गर्ने कीर्तिमान कायम गर्न सफल भइसकेकी छिन् । देउवा आफै महाकाली तरेर फुत्त भारत पुगेर फर्किएका घटना धेरै भए ।

पूर्वराजा ज्ञानेन्द्र शाहको भारत दौडाहा चलिरहन्छ । भारतबाट फर्किएर पश्चिम नेपाल हुँदै काठमाडौं ओर्लँदा उनको पक्षमा अहिलेसम्मकै ठूलो संख्यामा समर्थक निस्किएर २५ फागुनमा शक्ति प्रदर्शन नै गरेका थिए । १२ बुँदे समझदारी दिल्लीमा भएको घाम जत्तिकै छर्लङ्ग छ । यो समझदारी गराउन भूमिका खेलेको दाबी गर्नेहरूको सङ्ख्या उल्लेख्य छ । रोचक त यो छ कि अहिले तिनै पात्रहरू भारतको खुलेर विरोध गर्ने प्रतिस्पर्धामा छन् ।

कसैलाई व्यक्तिगत स्वार्थ सुरक्षित भइरहने व्यवस्था र परिस्थितिका लागि भारतले साथ दिइरहोस् भन्ने छ त कसैलाई त्यस्तै स्वार्थ निर्माणको परिस्थिति भारतले बनाइदेओस् भन्ने छ । विरोध या समर्थन गरेर भारतलाई नेपाली राजनीतिमा हस्तक्षेप गराउन जर्बजस्ती घिसारेर ल्याउने रणनीतिक प्रयास त्यस्ता पात्रहरूबाट हुनेगर्छ ।

कसैको स्वार्थ र चाहनामा भारत र चीन जस्तो शक्तिशाली देशहरूको बीचमा अवस्थित नेपालको राजनीतिक र सामाजिक परिस्थिति एकैपटक उथलपुथल हुने पनि होइन । निहित स्वार्थका लागि चालिएका कतिपय रणनीतिहरू समय क्रममा तास जस्तै ढल्न थालिसके । जसरी कुनै पनि समाजले आफ्नो मूल चरित्र छाड्दैन त्यसरी नै नेपाल राष्ट्रले पनि मूल चरित्र छाड्न सक्दैन । त्यस्तो चरित्र सभ्यताको हजारौँ वर्षको इतिहासबाट तयार भई निरन्तर विकासको क्रममा रहन्छ ।

नेपाली समाजको मूल चरित्र यहाँको धर्म, संस्कृति, परम्परा, रीतिरिवाज, प्रथा हुन् । नेपाल नाम नै ने ऋषिबाट बनेको भनाइहरू छन् । विभिन्न वंशावलीका राजा यो देशमा आए गए तर राष्ट्रको मूल चरित्र भने हिन्दू नै रह्यो । जे जति राजा बने हिन्दू नै बने । जे जति राष्ट्रपति र प्रधानमन्त्री बने ती हिन्दू नै बने । संविधानबाट हिन्दूराष्ट्र हटाएपनि नेपाली सेनाले शिवरात्रीको दिनलाई सेना दिवस मान्न छाडेन । ९० प्रतिशतभन्दा बढी सनातनीहरु रहेको देशमा संविधानबाट हिन्दूराष्ट्र हटाइँदाको असन्तुष्टि दबिएको थियो मेटिएको थिएन ।

जब नेपाली जनताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र त्यहाँका उच्च अधिकारीहरूबाट आधिकारिक रूपमै नेपालमा हिन्दूराष्ट्रविरुद्ध पैसाको खोलो बगाइएको पत्तो पाए तब दबिएको असन्तुष्टि बिष्फोटक बन्यो । त्यो बिष्फोटलाई आफू अनुकूल ढाल्न सत्ता र शक्तिबाहिर परेकाहरू सक्रिय भइहाले । कुन व्यक्तिलाई सत्ता र गद्दीमा लाने र कसलाई हटाउने खेलमा परिणत गराउन खोजियो ।

विश्वको एकमात्र हिन्दू राष्ट्र नेपालको पृथक् पहिचान थियो । विश्वका एक अर्बभन्दा बढी हिन्दूले नेपालको नामै सुन्दा गौरव गर्ने अवस्था थियो । नेपालको सफ्टपावर पनि थियो त्यो । भारतका हिन्दूहरुको मात्र नभई विश्वभरका हिन्दूहरुको पवित्रस्थल हो नेपाल । के कम्युनिष्ट के कांग्रेस हिन्दू धर्म बहुसंख्यकको जीवनपद्धति नै छँदैछ । भिन्न भिन्न जातजाति, समुदाय र क्षेत्रको मिलनबिन्दु पनि सनातन हिन्दू धर्म नै देखिन्छ ।

जसरी हलेसीमा हिन्दू, बौद्ध, किरात र जैनको साझा तीर्थस्थल रहेको छ । मुक्तिनाथ हिन्दू र बौद्ध दुवैको तीर्थस्थल । नेपाली समाजको यो विशेषताका कारण पनि धर्मले एकता र शान्तिको ऊर्जा दिन्छ । हिन्दू, बौद्धलगायत सनातन संस्कृतिले हिमाल, पहाड र तराईलाई जोडेको छ । धर्मले नेपाली समाजको एकता र शान्तिका लागि धर्म निभाइरहेको छ । त्यसैले समाजमा भाँडभैलो मच्चाउन धर्मविरुद्ध आक्रमण भए ।

माक्र्सले धर्म अफिम भनेको तर्क धर्मका नाममा ठगी खाने भाँडो बनाएकाहरूमा लागू होला तर नेपाली समाजलाई एकताबद्ध बनाउने र जनजनलाई जोड्ने सनातन हिन्दू धर्मको सही अभ्यासमा लागू हुँदैन । यसकारण पनि नेपाल राष्ट्रको मूल चरित्र सनातन हिन्दू धर्मको महत्त्वपूर्ण भूमिकालाई स्विकार्ने साहस शासकहरूले गर्नुपर्छ । नेपालको भूगोल, इतिहास र भूराजनीतिलाई मनन गरेर लिइने कठोर निर्णय देश र जनताको हितमै हुन्छ ।

प्रतिक्रिया दिनुहोस्