Logo
Logo

आरोपी डिआइजी नहटाई छानबिन


7.3k
Shares

काठमाडौं । मधेस प्रदेश प्रहरी कार्यालयले सूचना संकलनको नाममा घुमुवा परिचालन गर्दा मधेसका आठ वटै जिल्लाका नाकाबाट तस्करी मौलाएको भन्दै प्रहरी प्रधान कार्यालयले मधेश प्रदेशका डिआइजी गोविन्द थपलियामाथि छानबिन थालेको धेरै समय बितिसकेको छ ।

प्रदेश प्रहरी कार्यालयले मातहत जिल्लाका प्रहरी कर्मचारीलाई अविश्वास गरी घुमुवा परिचालन गर्ने र ती घुमुवाले डिआइजीको नामबाट तस्करीका लागि चिनिएका नाका खुलाउँदा यो समस्या उत्पन्न भएको थियो । चुनावअघि र चुनावपछिको संक्रमणकालमा डिआइजी कार्यालयबाट खटिएका घुमुवाहरू सीमा चौकीमा पुगेर नाका खुलाएका थिए । घुमुवासँगको सेटिङमा मधेशका प्रहरी प्रमुख डिआइजी थपलियाको तस्कर र व्यापारीसँग रकम असुली प्रकरणमा छानबिन समितिले काम थालेको छ ।

प्रहरी मुख्यालयले गठन गरेको समितिले छानबिन सुरू गरेको भए पनि डिआइजी थपलिया जिम्मेवारीमै रहँदा छानबिन प्रभावित हुने आशंका संगठनभित्रै छ । एआईजी उमाप्रसाद चतुर्वेदीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाइएको छ ।

समितिमा रहेका एसएसपी महेन्द्र खड्का र डीएसपी सन्तोष निरौलासहितको टोलीले प्रदेश प्रहरी कार्यालयका उच्च अधिकारीदेखि तल्लो दर्जासम्मका प्रहरीसँग बयान लिने र सोधपुछ गर्ने काम सुरू गरिसकेको छ । थपलियासँग पनि प्रारम्भिक सोधपुछ गरिएको छ । यस प्रकरणमा जोडिएका धनुषा प्रहरीका वरिष्ठ सई सागर शमशेर जबरा र सईद्वय गोपाल थापा मगर र जयलाल यादव हेडक्वार्टर तानिइसकेका छन् ।

यता, डिआइजीको यातनाको कारण देखाउँदै आत्महत्याको प्रयास गरेका प्रहरी जवान रोशन यादवलाई पनि फिर्ता बोलाइएको छ । पटक–पटक स्पष्टीकरणको मार खेपेका धनुषाका एसपी रुगमबहादुर कुँवर उपचारका लागि काठमाडौंमा छन् । तल्लो दर्जामाथि मात्रै कारबाहीको डण्डा चलाएर उच्च तहका अधिकारीलाई जोगाउने प्रयास भइरहेको भन्दै संगठनभित्रै आलोचना सुरू भएको छ ।

डिआइजी थपलियाका घुमुवाको आदेशमा सिरहाको माडर, ठाढी, बरियारपट्टी, झाझपट्टी, औरही, नरगी, चतरी नाका पछिल्लो समय तस्करका लागि भूस्वर्ग बनेको थियो । माडर नाका अन्तर्गतको बुधौरा, लगडिगोठ, लक्षमिनीया र ठाढी नाका अन्तर्गत झाझपट्टी, ठाढी, अभयनगर पछिल्लो समय ठूलो परिमाणमा तस्करी हुने गरेको थियो ।

यो विषयमा सिरहाका एसपी वासुदेव पाठकको पनि संलग्नता रहेको स्रोतको दाबी छ । तस्करीका मालसामान लहान, गोलबजार र मिर्चैयामा भण्डारण गरी बिल काटेर पहाडी जिल्लाहरूमा पठाउने गरिएको छ । सीमादेखि गोदामसम्म तस्करीका मालसामान सुरक्षित पु¥याउन घुमुवाले सघाउँछन् । मोटरसाइकल, टेम्पो, ट्याक्टर र मिनि ट्रक, पिकअप तस्करीका सामान भित्र्याउन प्रयोग गरिन्छ ।

धनुषाका जटही, औरही नाकाबाट पनि तस्करी हुने गरेको छ । नाका खुलाउन गएको आदेशलाई धुनषाका एसपीले नमानेपछि डिआइजी थपलिया र एसपीको बीच भनाभन भएको थियो । त्यही कारण अहिले धनुषाका एसपी रुगम कुँवरले नाकामा कडाइ गरेपछि डिआइजीको ओठतालु सुकेको थियो । पर्साका एसपीले प्रमाण पुगेपछि कारवाही गर्नु नत्र हस्तक्षेप गर्न नआउनु भनेपछि घुमुवाले त्यहाँ टेक्न सकेका छैनन् ।

व्यपारीकाअनुसार बारा सर्लाही, रौतहट र महोत्तरीमा डिआइजीको घुमुवाको नाममा आतंक छ । धनुषाका एसपीले तस्करीका सामान रोक्न खोज्दा प्रदेश प्रहरी कार्यालयको दबाब आएको भन्दै यो विषयलाई प्रहरी प्रधानकार्यालयमा समेत जानकारी गराएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्