काठमाडौं। भारतीय क्रिकेटको प्रशासकीय निकाय बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई) ले सहायक प्रशिक्षक अभिषेक नायरलाई पदमुक्त गरेको छ । नियुक्त भएको एक वर्ष नपुग्दै नायरलाई बर्खास्त गरिएको हो ।

अभिषेक नायरलाई गत वर्ष जुलाईमा मुख्य प्रशिक्षक गौतम गम्भीरको कोचिङ टिममा समावेश गरिएको थियो । तर, भारतले घरेलु मैदानमा न्यूजिल्याण्डसँग टेस्ट शृङ्खला ३-० ले गुमाएको र त्यसपछि अस्ट्रेलियामा भएको बोर्डर-गावस्कर ट्रफी ३-१ ले हारेसँगै बिसिसिआईले समिक्षा बैठक बोलाएको थियो । यही बैठकपछि नायरलाई हटाउने निर्णय गरिएको हो ।
उक्त समिक्षा बैठकमा बिसिसिआई सचिव देवजित सैकिया, मुख्य प्रशिक्षक गौतम गम्भीर, कप्तान रोहित शर्मा (टेस्ट तथा एकदिवसीय) र प्रमुख छनोटकर्ता अजित आगरकर सहभागी थिए ।
अलराउन्डरको रूपमा परिचित नायरले भारतका लागि तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए । उनी कोलकाता नाइट राइडर्स (केकेआर) मा गम्भीरसँगै सहायक प्रशिक्षक पनि थिए, जहाँ टोलीले २०२४ को आईपीएल उपाधि जितेको थियो ।
यद्यपि नायरले कहिल्यै घरेलु क्रिकेट टोलीको औपचारिक प्रशिक्षण गरेका छैनन्, उनले रोहित शर्मा, दिनेश कार्तिक, श्रेयस अय्यर, वेंकटेश अय्यर र अंगकृष रघुवंशीजस्ता थुप्रै स्थापित र युवा खेलाडीसँग काम गरेका थिए ।
हालै केएल राहुलले पनि सेतो बल क्रिकेटमा आफ्नो सफलताको श्रेय नायरलाई दिएका थिए । तर, जनवरीमै बिसिसिआईले पूर्व ब्याट्सम्यान सितांशु कोटकलाई ब्याटिङ प्रशिक्षकको रूपमा नियुक्त गरेपछि नायरको भूमिकामा अन्योल देखिएको थियो ।











