काठमाडौं। नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले अन्तर्राष्ट्रिय रङ्गमञ्चमा ऐतिहासिक जित हात पारेका छन्।

२५ वर्षीय बझाङ निवासी ढाँटले ब्रेभ कम्ब्याट फेडेरेसनद्वारा चीनको झेंन्जुहाउ सहरमा आयोजित प्रतिस्पर्धामा चिनियाँ खेलाडी एकियुबुलाई मात्र दुई मिनेटमै नकआउट गर्दै शानदार जित निकालेका हुन्।
बान्टमवेट डिभिजनअन्तर्गत भएको उक्त बाउटको पहिलो राउन्डमै रवीन्द्रले एकियुबुमाथि तीव्र आक्रमण गरे। उनले लगातार मुक्काहरू प्रहार गर्दा एकियुबु डिफेन्स गर्न असफल भए, जसपछि रेफ्रीले खेल रोकेका थिए।
यो जितसँगै रवीन्द्र ब्रेभ कम्ब्याट फेडेरेसनमा विजयी हुने पहिलो नेपाली खेलाडी बन्न सफल भएका छन्।














