काठमाडौं । होटेल सारथीले आइपिओ निष्कासन गर्ने भएको छ । आइपिओ निष्कासन तथा बिक्रीका लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक नियुक्त भएको छ । यससम्बन्धी सम्झौतामा होटेलका कार्यकारी अध्यक्ष प्रह्लाद प्याकुरेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

होटेलले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँबराबरको १५ लाख कित्ता आइपिओ जारी गर्नेछ । आइपिओ जारीपश्चात् कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ । आर्थिक वर्ष ०८२÷८३ भित्र आइपिओ आउने र यसमा लगानीकर्ताले लगानीको अवसर पाउने बताइएको छ ।
०७२ सालमा स्थापित होटेल सारथी लक्जरी होटेल हो । हाल होटेलमा प्रेसिडेन्सियल सुइट, सुइट, प्रिमियम तथा डिलक्स गरी ८० वटा कोठा सञ्चालनमा छन् । सारथी समूहअन्तर्गत होटेल, मार्ट, बहुउद्देश्यीय सहकारी, वेलफेयर फाउन्डेसन, स्कुल, तालिम केन्द्र, सारथी भेन्चर्स तथा होलिडेज सञ्चालनमा रहेका छन् ।











