
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी बनाउने भन्दै देश दौडाहामा निस्किएका छन् । तराई मधेश जागरण अभियानको क्रममा देश दौडाहामा निस्किएका प्रचण्डले बिहानी पैदल यात्रा (मर्निङवाक)लाई विशेष प्राथमिकता दिएका छन् ।
गत फागुनबाट सुरु भएको माओवादीको जागरण अभियान बीचमा स्थगित भएर फेरि सुचारु भएको छ । त्यस क्रममा देशका विभिन्न जिल्ला पुगेर प्रचण्डले माओवादी नेता कार्यकर्ताहरू अघिपछि लगाएर बिहानै मर्निङ वाकमा निस्किएको दृश्य सामाजिक सञ्जालमा अहिले निकै देखिन्छ ।
जागरण अभियानको क्रममा देशभर जहाँ पुगे पनि प्रचण्ड बिहानी पैदल यात्रामा निकै सोखिन देखिएका छन् । शारीरिक स्वस्थताका लागि बिहानको हिँडाइ उपयुक्त मानिए पनि प्रचण्ड भने पार्टी पुनर्निर्माण गर्न निस्किएका हुन् ।
सांगठनिक अवस्था भद्रगोल बनाएर आफू निकटकालाई जिम्मेवारी दिन तल्लीन प्रचण्डले पार्टी निर्माण भन्दा मर्निङवाककै देखावटी तडकभडकमै रमाउन थालेका छन् । पार्टी निर्माण गर्न उपयुक्त नीति कार्यक्रम र त्यसलाई कार्यान्वयन गर्ने बलियो सांगठनिक संरचना चाहिन्छ ।
जागरण अभियानको क्रममा पार्टीको सांगठनिक जीवन अस्वस्थ बनाएर शारीरिक स्वस्थताका लागि मात्रै गरिने मर्निङवाकले पार्टीलाई कुनै परिणाम दिँदैन । कम्युनिष्ट पार्टी आफैँमा कार्यकर्तामा आधारित पार्टी हो । यो मासबेस पार्टी होइन । त्यसका लागि व्यवस्थित तवरको सांगठनिक संरचना आवश्यक पर्दछ ।
तर, प्रचण्ड भने ‘मासबेस’ पार्टी जस्तै भीडभाड बटुलेर हिँडिरहेका छन् । जहाँ पुग्छन् त्यहाँ प्राय कार्यकर्ता भेटघाट र जनसम्बन्ध विस्तार भन्दा पनि मर्निङवाकलाई महत्व दिँदै कार्यकर्ता पनि दौडिरहेका देखिन्छन् ।
उनले हरेक जिल्लामा आफ्नो पछिल्लो प्रधानमन्त्रीत्वकालका सकारात्मक कार्यको श्रेय लिँदै वर्तमान ओली सरकारलाई बिचौलियाको हितको निम्ति गठित सरकारको संज्ञा दिएका छन् ।
नेपाली राजनीतिमा आफ्नो उत्तरदायित्व वहन नगर्ने तर अरुको कमजोरी देखाएर आफू सही देखिन प्रयत्नशील रहने प्रवृत्ति सबैजसो दल र नेताको आम चरित्र नै बनेको छ । सोही प्रवृत्तिलाई प्रचण्डले पनि जागरण अभियानको क्रममा निरन्तरता दिएका छन् ।
हरेक राजनीतिक दलको आफ्नै एजेन्डा र पक्षधरता हुन्छ । त्यसकै आधारमा जनता र कार्यकर्ता पार्टीमा समाहित हुने हो । प्रतिपक्षमा रहँदा आफ्ना दलगत एजेन्डाहरू जनतामाझ लगेर उनीहरूलाई गोलबन्द गर्ने र सरकारमा रहँदा त्यसलाई कार्यान्वयन गरेर परिणाम दिने राजनीतिक दलको दायित्व हो ।
माओवादीको पनि आधारभूत तहका श्रमजीवी जनता पार्टीका कार्यकर्ता र समर्थक छन् । तर, पछिल्लो समय सत्ता राजनीतिमा मात्रै केन्द्रित भएर आफ्नो धरातल भुलेपछि अधिकांश जनता र कार्यकर्ता पार्टीबाट अलग भइसकेका छन् । त्यो क्रम अहिले पनि जारी छ ।
त्यहीँ विगतको कमजोरीलाई आत्मसात गर्दै जनता र कार्यकर्तासँग टुटेको कडीलाई जोड्ने भन्दै माओवादीले जागरण अभियान थालेको थियो । यसले आम नेता कार्यकर्तादेखि जनतासम्म आशाको रक्तसञ्चार भए पनि यो अभियान मर्निङ वाक र बाह्य तामझाममा मात्रै सीमित भएको नेता कार्यकर्ताले गुनासो गरेका छन् ।
माओवादीले भने अभियान अवधिभर नेताहरू होटेलमा नबस्ने जनाउँदै युद्धकालीन कार्यकर्ता, सहिद परिवार, समर्थक र शुभचिन्तक जनताकै घरमा बस्ने निर्णय गरेको छ ।
तर, जनताको घरमा गएर बास बसेर मात्रै गुमेको विश्वास फर्कन सम्भव छैन । ती जनतासँग गरिएका विगतका प्रतिबद्धता सरकारमा रहँदा कति कार्यान्वयन गरियो भन्ने प्रश्न पनि माओवादी नेतृत्वमाथि अहिले उठ्न थालेको छ ।
अझैँ पछिल्लो समय त प्रचण्डलाई साथ दिन माओवादीको पूर्वजनमुक्ति सेनाका कमान्डर समेत रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ पनि अभियानमा सामेल भएका छन् । उनले झनै फौजी शैलीमा राता कपडा लगाएर पूर्व लडाकुहरू प्रचण्डको अघिपछि दौडाए छन् ।
सरकारबाट बाहिरिए पछि मात्रै पार्टी निर्माणको विषयमा चिन्तित हुने माओवादी नेतृत्व सरकारमा रहँदा भने कुर्सी टिकाउने ध्याउन्नमै रहन्छ । अहिले दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि मात्रै फुर्सदिलो बनेका प्रचण्डले पार्टी निर्माणमा ध्यान केन्द्रित गरेका हुन् ।
माओवादी पार्टी अहिले पनि युद्धकालीन संरचनामा आधारित छ । विगतको नेतृत्वमाथिको केन्द्रीकरण आजपर्यन्त जारी छ । पार्टीको सम्पूर्ण अधिकार प्रचण्डले आफैँमा निहित गरेका छन् ।
त्यसकै उपज प्रचण्डले दुई कार्यकाल उपराष्ट्रपति भएका पासाङलाई चौतर्फी विरोधका बाबजुद पनि आफ्नै एकल निर्णयले पार्टी उपाध्यक्षको जिम्मेवारी दिएका हुन् । माओवादी आन्दोलनका क्रममा सैन्य क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनी युद्धकलाका एक सशक्त सैन्य कमान्डर हुन् ।
तर, मुलुककै अभिभावकीय भूमिकामा रहिसकेका उनलाई पार्टीको सक्रिय राजनीतिमा भित्र्याउँदा गणतान्त्रिक व्यवस्थाकै अभिभावकीय संस्थाको गरिमामा आँच पुर्याएको छ ।
गणतान्त्रिक व्यवस्थामाथि दल र नेतातन्त्रको आक्षेप लागिरहेकै बेला घोषित रुपमै पासाङको सक्रिय राजनीतिमा पुनरागमनले थप असन्तुष्टि बढाउने निश्चित छ । यसले राज्यको अभिभावकीय भूमिकामा रहेकाहरू दलगत मानसिकताबाट मुक्त हुन नसकको देखाउँछ ।
तथापि, प्रचण्ड भने यी यावत विषयको कुनै परवाह नगरी पार्टीको आन्तरिक शक्ति सन्तुलन अनुकुल बनाएर आफ्नो नेतृत्वमाथिको सम्भावित संकट टार्न पासाङ बोकेर हिँडेका छन् ।
माओवादीको जागरण अभियानलाई यसले सांगठनिक पुनर्निर्माण भन्दा पनि मर्निङवाकमा सीमित गर्दै जनतामा बढेको व्यवस्था विरोधी वितृष्णालाई थप प्रश्रय दिएको देखिन्छ ।
यद्यपि, प्रचण्ड भने यसबारेमा प्रष्टीकरण दिँदै राष्ट्रपति र उपराष्ट्रपतिले जोगाएर मात्रै गणतन्त्र नजोगिने बताइसकेका छन् । आइतबार विराटनगर पुगेका प्रचण्डलाई सञ्चारकर्मीले पासाङको सक्रिय राजनीतिमा पुनरागमनले गणतन्त्रप्रति थप वितृष्णा बढाउने विषयमा प्रश्न गरेका थिए । त्यस क्रममा प्रचण्डले गणतन्त्र नामले नभइ कामले बच्ने बताउँदै राष्ट्रपति र उपराष्ट्रपतिको मात्रै भूमिका नहुने बताएका थिए ।
कमजोर बनेको पार्टीका आन्तरिक समस्या समाधान गरेर संगठन चलायमान बनाउने भन्दा पनि जस्तोसुकै अवस्थामा पनि आफू नेतृत्वमा टिक्नु नै प्रचण्डको उद्देश्य देखिन्छ । त्यसकै लागि जागरण अभियानको नाममा मर्निङ वाक र पार्टीमा आफ्नो स्थान थप सुरक्षित गर्न पासाङ भित्र्याएका हुन् ।
उनले यस अभियानमा आफ्ना विश्वास पात्रलाई मात्रै हिँडाएका छन् । पासाङसहित पार्टी उपाध्यक्ष अग्नि सापकोटा र शक्ति बस्नेत प्रचण्डसँग कहिल्यै नछुट्ने पात्र हुन् ।
आफ्ना एसम्यानहरू अघिपछि लगाएर प्रचण्डले जागरण अभियानका क्रममा गरेको मर्निङ वाकले उनको आफ्नो शारीरिक स्वास्थ्य लागि लाभदायक भए पनि पार्टी निर्माणको मेरुदण्डको रूपमा रहेको संगठन स्वस्थकर बनाउन कुनै भूमिका खेल्ने छैन ।
यसले प्रचण्ड संगठन निर्माण भन्दा पनि आफ्नो स्तुतीबाहकलाई मर्निङवाकको रूपमा अघिपछि लगाएर पार्टीमा अझै आफू बलशाली रहेको आत्मरति लिन उद्यत रहेको प्रस्ट हुन्छ ।











