Logo
Logo

एमालेलाई बहुमत दिलाए मात्र नेपालको राजनीतिक अस्थिरता हट्छ : शंकर पोखरेल


630
Shares

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताको दुष्चक्रले जनतालाई चिन्तित तुल्याएको बताएका छन् । साथै उनले युवाहरूले विचारलाई एकीकृत गरेर आगामी निर्वाचनमा नेकपा एमालेलाई बहुमत दिलाए मात्र नेपालको राजनीतिक अस्थिरता हट्ने बताए । 

बिहीबार काठमाडौँको भृकुटी मण्डपमा पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसका अवसरमा भएको ‘यूथ सेलिब्रेशन’कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले कुनै पनि राष्ट्रको विकास र सम्मृद्धिका लागि भिजनरी नेतृत्व, स्ट्रङ पोलिटिकल पार्टी र स्थायित्व अनिवार्य भएको बताए । 

उनले अब नेपालमा युवाहरूले जनमत विभाजित गर्न नहुने तथा जनमत ध्रुवीकरण समेत गर्न नहुने बताए । उनले भने,  ‘त्यसरी बलियो र राष्ट्रिय शक्तिको निर्माण गर्नुपर्छ । अब युवाहरूले धेरैतिर आफ्ना विचार छर्ने होइन । विचारलाई एकीकृत गर्नुपर्दछ र सङ्कल्पका आधारमा राष्ट्र निर्माणमा अघि बढ्नुपर्दछ । जसरी छिमेकीहरूले राजनीतिक स्थिरताको सुनिश्चित गरेका छन् ।’ 

युवाहरूको भविष्य सुरक्षित राख्न एमाले प्रतिबद्ध रहेको भन्दै पोखरेलले आउने बजेट र नीति कार्यक्रम युवामैत्री हुने दाबी गरे ।  पोखरेलले देश हितका निम्ति दरिलो ढङ्गले उभिने पार्टी एमाले भएको भन्दै राष्ट्रका समस्या पनि एमालेले नै सम्बोधन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्