काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले शिक्षकहरूको माग बेवास्ता गर्दै उनीहरूलाई अपमानित गरिरहेको आरोप लगाएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपालका नवनिर्वाचित पदाधिकारीहरूको शपथग्रहण कार्यक्रममा उनले सरकारले शिक्षकमाथि गरिरहेको व्यवहार लाजमर्दो रहेको टिप्पणी गरे।
उनले भने, ‘लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्नेतिर सरकार लागेको छ । शिक्षकहरूसँग भएका सहमतिअनुसार ऐन तुरुन्त ल्याउनुपर्छ। छोटो बाटोबाट समाधान खोज्नुपर्छ।’
प्रचण्डले अदालतले समेत शिक्षकको पक्षमा आदेश दिइसकेको भए पनि सरकारले त्यसलाई कार्यान्वयन गर्न उदासीन देखिएको बताए । साथै उनले शिक्षालाई सामान्य अवस्थामा फर्काउन सरकार गम्भीर नभएको आरोपसमेत लगाए । शिक्षकहरू विद्यालय फर्काउने वातावरण बनाउन सरकारले पहल गर्नुपर्ने विषयमा प्रचण्डले जोड गरे ।
उनले संसद्, सडक र अन्य राजनीतिक मोर्चाबाट देशको विषम परिस्थिति हल गर्न आफूहरू तयार रहेको स्पष्ट पार्दै शिक्षकहरूको माग सम्बोधनका लागि दबाब सिर्जना गरिने चेतावनीसमेत दिए ।











