Logo
Logo

आइजिपीलाई पहिलो गाँसमै ढुंगा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ साउन । नेपाल प्रहरीमा ठूलो चलखेलबिना नै प्रहरी नेतृत्वमा पुगेका शैलेश थापा क्षेत्रीले संगठनमा केही सुधारका लागि योजना बनाएका छन् । तर, उनको योजनामा प्रहरी अधिकारीहरुकै अवरोध हुने देखिएको छ ।

शुक्रबार भएको लेखापालको सरुवामा उनलाई गुमराहमा राखेर उनकै ब्याचीहरुले चलखेल गरेका छन् । आर्थिक प्रशासन महाशाखाका प्रमुख रहेका एसएसपी पुरुषोत्तम कँडेलले सरुवामा चलखेल गरेको स्रोत बताउँछ । सरुवामा महानिरीक्षक क्षेत्रीले ठूलो चासो नदिएपछि उनले चलखेल गरेका हुन् । स्रोतका अनुसार केही बिचौलियाको चलखेलका आधारमा एसएसपी कँडेलले सरुवाको सूचि बनाएका थिए ।

त्यसो त सरुवामा नियम समेत मिचिएको छ । सामान्यतया २ वर्षमा लेखापालको सरुवा हुनेमा कतिपयलाई एक वर्षमै थप आकर्षक मानिने कार्यालयमा सरुवा गरिएको छ ।

एसएसपी कँडेलले यसमा चलखेल गरेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । एसएसपी कँडेल प्रहरी महानिरीक्षक क्षेत्रीकै ब्याची हुन् । उनीमाथि विश्वास गर्दा सुरुमै महानिरीक्षकलाई धोका भएको स्रोत बताउँछ । पदबहाली गरेकै दिन महानिरीक्षक क्षेत्रीले आफ्नो विनम्रतालाई कमजोरी नठान्न चेतावनी दिएका थिए । तर, उनको नरम स्वभावको फाइदा अन्य प्रहरीले उठाउन थालिसकेका छन् ।

उता प्रहरी महानिरीक्षक क्षेत्रीलाई पूर्व प्रहरीहरुले सुरुमै चुनौती दिएका छन् । प्रहरी कल्याण कोषको सबै विवरण सार्वजनिक गर्न उनीहरुले माग गरेका छन् । पूर्व प्रहरी संगठनको शनिबार बसेको बैठकले यस्तो माग गर्ने निर्णय गरेको हो । कल्याण कोषमा हालसम्म पाँच अर्ब हुनुपर्ने भए पनि सवा दुई अर्ब मात्र भएकाले अनियमितताको आशंका गरी सुरुदेखिकै सबै हिसाबकिताब सार्वजनिक गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्