
डान्सर तथा कोरियोग्राफर शर्मिला तामा तामाङ कलेजमा नाच्दा नाच्दै यो क्षेत्रमा आइपुगिन् । बाल्यकालमा डान्सप्रति खासै रुचि नदेखाएकी उनको उमेर बढ्दै गएपछि डान्स प्रतिको मोहपनि बढ्दै गयो । विभिन्न विद्यालयहरूमा डान्स सिकाउने तथा कोरियोग्राफि गर्ने उनी आफूलाई ‘डान्स टिचर’ भएकोमा गर्व गर्छिन् । आफ्नो कला देखाउन देश तथा विदेशमा समेत पुगिसकेकी उनीसँग दृष्टिको लागी रेजिना पाण्डेले गरेको कुराकानी :
डान्स तथा कोरियोग्राफीको क्षेत्रमा काम गर्नुभएको कति वर्ष भयो ?
लगभग १२ वर्षदेखि यो क्षेत्रमा निरन्तर छु ।
आजभोलि कत्तिको व्यस्त हुनुहुन्छ ?
व्यस्त छु । देश, विदेशमा काम भइरहेका छन् । ६ वटा विद्यालयहरूमा डान्स सिकाउँछु । भगवानको कृपाले खाली बस्नुपरेको छैन ।
यस्तो प्रतिस्पर्धाको समय छ र पनि निरन्तर काम पाउँदा कस्तो अनुभूति हुन्छ ?
हो । यो क्षेत्रमा निकै प्रतिस्पर्धा छ । तर पनि मलाई कामको चाप छ । यसले गर्दा मैले आफूलाई भाग्यमानी ठानेको छु ।
यो पेसामा युवाहरूको आकर्षण पहिलेभन्दा अहिले बढेको हो ?
अहिले मात्र होइन, पहिले पनि यो क्षेत्रमा सबैको आकर्षण नै देखिन्थ्यो । यो क्षेत्रमा आकर्षण सधैँ छ । यो क्षेत्र नाम र दाम कमाउने कर्मथलो पनि भएको छ । यसको उदाहरण राम्रा–राम्रा सिनियर डान्सर, कोरियोग्राफर हुनुहुन्छ । फरक यति हो कि पहिले कम सूचना हुन्थे, कम नाम आउँथ्यो । अहिले सामाजिक सञ्जालबाट सबै थाहा हुन्छ ।
नाचेर कोरियोग्राफरको काम गरेर जिन्दगी चल्छ ?
मज्जाले चल्छ । यही क्षेत्रमा काम गरेर धेरैले नाम र दाम कमाएका छन् । परिवार पालेका छन् । यसका उदाहरण धेरै छन् । यही पेशाले देश, विदेश पनि घुमाएको छ ।
तर कयौँ कोरियोग्राफरहरुको त नाम आउँदैन नि ?
भनिन्छ नि, बोल्नेको पिठो बिक्छ । नबोल्नेको चामल पनि बिक्दैन । हो, धेरै राम्रो कोरियोग्राफरहरु पनि गुमनाम हुनुहुन्छ ।
काममा सन्तुष्टि मिलेको छ ?
म आफ्नो कामसँग एकदमै सन्तुष्ट छु ।
तपाईँलाई आफैँसँग गर्व लाग्ने कुरा के हो ?
सबैले डान्स टिचर भनेर चिन्छन् यो सुन्दा एकदमै गर्व र खुशी लाग्छ ।
डान्स सिकाउँदा के–के कुराको ध्यान दिनुहुन्छ ?
उमेर हेर्छु । सिक्ने व्यक्तिको हाउभाउ हेर्छु । उक्त डान्स कुन ठाउँको लागि तयार गरिने हो त्यो हेर्छु ।
डान्स सिक्नको लागी उमेरको हक छ कि छैन ?
छैन । जुन उमेरकाले पनि डान्स सिक्न सक्छ । डान्स सिक्नका लागि उमेरको रोकतोक छैन । वास्तवमा डान्स त स्वस्थ हुनका लागि एक प्रकारको थेरापी पनि हो ।


















