काठमाडौं । कुनै बेला प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’को बेडरुमसम्मै पुग्ने हैसियत राख्ने मेडिकल माफिया विशाल पण्डितविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ करोड ६४ लाख १३ हजार १२० रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मधेश प्रदेश सरकारले मधेश प्रदेश निदान केन्द्र सञ्चालनका लागि स्वास्थ्य उपकरण खरिद गर्ने क्रममा अनियमितता गरेको अभियोगमा पण्डित र तत्कालीन प्रदेश सचिव इमनारायण श्रेष्ठसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । खरिदमा मिलेमतो गरी भ्रष्टाचार गरेकामा मतियारका रूपमा हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक समेत रहेका पण्डितलाई मुख्य कसुरदारसरह नै १९ करोड ४६ लाख १३ हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना मागदाबी गरी मुद्दा दायर भएको छ ।
अन्य कर्मचारी र व्यापारीको मिलेमतोमा सरकारी रकम हानिनोक्सानी गरेको अभियोग उनीमाथि लगाइएको छ ।
आव २०७८÷७९ का लागि आह्वान गरिएको खरिद प्रक्रियामा मधेशका ६४ स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला (निदान केन्द्र) स्थापनाका लागि उपकरण खरिदपूर्व गर्नुपर्ने प्रक्रिया उल्लंघन गरी मिलेमतोमा ठेक्का सम्झौता गरेर सरकारी रकम हानिनोक्सानी गरेको अभियोग छ ।
निदान केन्द्र स्थापनाका लागि २५ करोड ३८ लाख ५३ हजार रुपैयाँ रकम स्वीकृत भएकामा स्पष्ट आधार, कारण र औचित्यबिना कार्यक्रमअन्तर्गत ठेक्का टुक्राएर चारवटा मात्रै स्वास्थ्य परीक्षणसम्बन्धी उपकरण खरिद सम्झौता गरी त्यसलाई नै गैरकानुनी रूपमा अघि बढाएबाट कायम गरिएको बिगो रकम बराबरको हानिनोक्सानी पु¥याएको अभियोग अख्तियारको छ ।
यस अगाडि कोशी प्रादेशिक अस्पतालका लागि स्वास्थ्य उपकरण खरिद गर्दा पनि भ्रष्टाचार भएको आरोपमा पण्डितमाथि ३ करोड बिगोदाबी मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको थियो । स्वास्थ्य क्षेत्रमा मेडिकल माफियाको रुपमा चर्चित पण्डितले स्वास्थ्य मन्त्रालयमा सेटिङ गरेर १०औँ वर्षदेखि देशभरीका सरकारी अस्पतालहरूमा एकलौटी रुपमा मेडिकल उपकरण आपूर्ति गर्दै आएका थिए ।
बजार मूल्यभन्दा दशौँ गुणा महंगो स्वाथ्य उपकरण सरकारी अस्पताललाई भिडाएर अर्बौँ भ्रष्टाचार गर्दै आएका पण्डितविरुद्ध अख्तियारमा सयौँ उजुरी परे पनि अख्तियारले ति उजुरी तामेलीमा पठाउने गथ्र्यो । तर, अहिले अख्तियारले पण्डितविरुद्ध मुद्दा दायर गरेपछि स्वास्थ्यका कर्मचारीहरू र मेडिकल माफियाहरू तर्सिन थालेका छन् ।
सेटिङमा माहिर पण्डितले न्यायालयसम्म पहुँच बढाएका छन् । उनले आफ्ना व्यवसायिक प्रतिष्पर्धीहरूलाई विभिन्न झुटो मुद्दा लगाएर फसाउने गरेका छन् । उनको सिंहदरबार नजिकैको बसेरा होटलमा कतिपय न्यायाधीशहरू मदिरा पिउन जाने गरेको सूचना पनि प्राप्त भएको छ । यसैकारण अख्तियारले जति मुद्दा दायर गरे पनि अदालतबाट उन्मुक्ति पाउने कुरामा उनी ढुक्क छन् ।
उदाहरणका लागि अख्तियारले सिंहदरबार दक्षिण गेट नजिकै उनले मापदण्डविपरित होटल निर्माण गरेका छन् । सुरक्षाको दृष्टिकोणले उक्त होटल निर्माण गर्नु ठिक होइन भनेर राष्ट्रिय अनुसन्धान विभागले गृह मन्त्रालयलाई पत्राचार पनि गरेको थियो । स्रोतका अनुसार गृह मन्त्रालयले उक्त होटल निर्माण स्थगित गर्ने निर्णय पनि गरेको थियो । तर, अहिलेसम्म उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन । उक्त होटलमा संदिग्ध व्यक्तिहरूको बसोबास, आवतजावत जारी नै छ ।
राष्ट्रिय अनुसन्धान विभागको कम्पाउण्डबाट २० मिटर टाढा रहेको उक्त होटलका कारण राअविको महत्वूर्ण सूचना ‘ह्याक’ हुन सक्ने र उक्त होटलबाट राअवि कम्पाउण्डको चियोचर्चा गर्न सजिलो हुने भएकाले सुरक्षाको दृष्टिकोणबाट उक्त होटल बन्द गरिनुपर्ने माग अहिले पनि राअवि कर्मचारीहरूले गरेका छन् ।
२० वर्षअघि धादिङबाट आएका सामान्य व्यक्ति पावर ब्रोकर भएकै आधारमा रातारात अर्बपति भएका छन् । उक्त होटल निर्माण गर्न बैंकबाट कर्जा लिएको देखाए पनि उनको स्रोत खुल्न सकेको छैन । सम्पत्ति शुद्धीकरण विभागले पनि भ्रष्टाचार र कमिशनबाट आर्जित उनको सम्पत्तिमाथि आँखा चिम्लेको छ । सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको छ । प्रधानमन्त्री ओलीले एमालेको कतिपय कार्यक्रम उनकै होटलमा राख्ने गरेकाले पनि पण्डित आफूमाथि कारबाही नहुनेमा ढुक्क छन् ।
स्रोतका अनुसार पण्डितमाथि अन्य खरिद प्रकरणमा पनि थुप्रै उजुरी परेका छन् । वीर अस्पतालले पण्डितको कम्पनीमार्फत २०७४ सालमा अत्याधुनिक टोमोथेरापी मेसिन ल्याए पनि जडान नै नगरी बिग्रेको थियो । पण्डितको लाइफलाइन ट्रेड इन्टरनेसनल प्रालिमार्फत वीरले टोमोथेरापी किनेको थियो । मेसिन बिग्रिएपछि कम्पनीले शोध भर्ना गरिदिए पनि बजार मूल्यभन्दा करिब दोब्बरमा उपलब्ध गराएको थियो । उक्त प्रकरणमा भ्रष्टाचार भएको भन्दै उजुरी परेको छ ।
त्यस्तै स्वास्थ्य मन्त्रालयको अनुदानमा क्यान्सर रोगीको उपचारमा सहजीकरणका लागि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको टेन्डर प्रक्रिया मिलाउनदेखि भुक्तानीको प्रक्रियासम्म संलग्न रहेर पण्डितले भ्रष्टाचार गरेको आरोप छ ।











