
काठमाडौं । काठमाडौं महानगरपालिकाले मआफु मातहतका निजी विद्यायलयलाई जेठको पहिलो साताभित्र कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिसक्न निर्देशन दिएको छ ।
महानगरपालिकाले मंगलबार सूचना जारी गर्दै अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ तथा काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५ अनुसार गरिब, अपांगता, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन भनेको हो ।
शैक्षिक सत्र २०८२ मा पनि कक्षा १ देखि १० सम्म विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा दस प्रतिशतमा नघट्ने गरी तोकिए बमोजिम छात्रवृत्ति उपलब्ध गराउन विद्यालयको सूचना पाटीमा सूचना टाँस गर्न पनि महानगरको आग्रह छ । सम्बन्धित विद्यार्थी तथा निजका अभिभावकबाट आवेदन लिई २०८२ जेठ पहिलो साताभित्र छात्रवृत्ति वितरणको व्यवस्था मिलाउनु महानगरले अनुरोध गरेको हो ।
छात्रवृत्ति वितरण गर्दा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा (३) मा रहेको देहाय बमोजिमको छात्रवृत्ति छनौट समितिको निर्णयबाट मात्र छात्रवृत्ति वितरण गर्न पनि सूचनामा भनिएको छ ।















