
काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले सहिदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
माओवादी तराई–मधेस जागरण अभियानका क्रममा पुनर्वास नगरपालिकाको मातियाबस्ती पुगेका अध्यक्ष प्रचण्डले सहिद परिवार सम्मान कार्यक्रममा बोल्दै सहिद, बेपत्ता योद्धा परिवारप्रतिको जिम्मेवारी र कर्तव्य पूरा गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए ।
उनले ‘एक सहिद, एक रोजगार कार्यक्रम’ सञ्चालन गरिने समेत बताए । सहिदले देखाएको सत्मार्गमा लाग्ने प्रण गर्दै उनले सहिद परिवारका सदस्यलाई पार्टीले उच्च स्थानमा राखेको बताए ।
जनताको बलिदानबाट गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको चर्चा गर्दै उनले गणतन्त्रको विकल्प अर्को शासन व्यवस्था हुन नसक्ने बताए ।














