काठमाडौं । सरकारसँग नेपाल शिक्षक महासंघले ‘उधारो’ सहमति गरेपछि शिक्षक कर्मचारीहरु असन्तुष्ट भएका छन् । सरकार र नेपाल शिक्षक महासंघबीच बुधबार नौ बुँदे सहमति भएको थियो ।

शिक्षकहरु विद्यालयको ऐनको माग गर्दै आन्दोलनमा उत्रिएका थिए । तर, हाताहाती ऐन भन्दै देशभरबाट विद्यालयका शिक्षक कर्मचारी काठमाडौं आएका थिए । तर, ऐनबिना नै ‘उधारो’ सहमति भएपछि शिक्षकहरूले महासंघको विरोध जनाएको छ ।
नेपाल विद्यालय कर्मचारी परिषद्ले विज्ञप्ति जारी गर्दै सहमतिको विरोध गरेको हो । परिषदको विज्ञप्तिमा भनिएको छ, ‘सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको पूर्णरूपमा असहमति रहेको व्यहोरा सबैमा जानकारी गराउँदै नेपाल विद्यालय कर्मचारी परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भत्सर्ना गर्दछौँ ।’
२० चैतदेखि काठमाडौंमा चलेको आन्दोलन बुधबार सहमतिपछि टुंगिएको छ । यसअघि वार कि पार भन्दै शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा होमिएका थिए । तर, सरकार र महासंघबीच सहमति भएपछि शिक्षकहरुले आन्दोलन फिर्ता लिएका छन् ।
शिक्षकहरुसँग सहमति भएको भन्दै शिक्षामन्त्री रघुजी पन्तले आजैदेखि विद्यार्थी भर्ना सुरु हुने बताएका छन् । यसैबेला नेपाल विद्यालय कर्मचारी परिषदले यो भनाइ आएको हो ।














