
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिकहरूलाई पूर्णअधिकार सम्पन्न गराएर रोजगारी बृद्धि गर्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउन आवश्यक रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले आफ्नै देशमा ज्ञान सीपको बिकास र लगानी गर्ने वातावरण बनाएर समृद्ध नेपालको सपना पूरा गर्नुपर्ने बताएका हुन् ।
उनले असंगठित श्रमिकहरूको पहिचान गरी पञ्जीकरणका लागि स्थानीय तहमा श्रमिक डेस्क राख्ने र सामाजिक सुरक्षाको दायरामा ल्याउन पहल गर्न आवश्यक रहेको बताए ।
कांग्रेसले ट्रेड युनियन ऐन, श्रम ऐन, सामाजिक सुरक्षा कोषलगायतलाई अगाडि बढाउन सदैव महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले दाबी गरे ।














