काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी स्वास्थ्य समस्या देखिएपछि काठमाडौंको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएकी छन् ।

सानो आन्द्रा, रगत र मुटुसम्बन्धी समस्या देखिएपछि श्रेष्ठ बुधवार अस्पताल भर्ना भएकी थिइन् । तर, सोही दिन तय गरिएको पार्टी एकता घोषणा कार्यक्रममा सहभागी हुन उनले अस्पतालबाटै सहभागिता जनाएकी थिइन् ।
कार्यक्रमका क्रममा उनका श्रीमान् तथा पार्टी संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेपछि श्रेष्ठ उनलाई छुटाउन डिल्लीबजार कारागारसमेत पुगेकी थिइन् । रेशमको रिहापछि श्रेष्ठ राति अबेरसम्म पार्टीका गतिविधिमा सक्रिय रहिन् ।
थकान र स्वास्थ्य अवस्थामा आएको थप जटिलताका कारण उनी आज बिहान पुनः ग्राण्डी अस्पतालमा भर्ना गरिएको स्वकीय सचिव भक्त चलाउनेले जानकारी दिए। रञ्जिता श्रेष्ठको अहिले उपचार जारी छ । स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ ।














