काठमाडौं । भारतबाट नेपाल आउने विद्युत् आपूर्तिको समय चार घण्टाले बढाइएको छ । नेपाल विद्युत् प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै आज (बिहीबार, १ मे)देखि भारतबाट खरिदमार्फत उपलब्ध हुने विद्युत् आपूर्तिको समय विस्तार गरिएको जानकारी दिएको हो।

अहिलेसम्म इन्डियन एक्सचेन्ज मार्केटमार्फत ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन हुँदै बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म ६०० मेगावाट विद्युत् आयात हुँदै आएको थियो। अब उक्त समयलाई चार घण्टा बढाएर बिहान २ बजेदेखि साँझ ५ बजेसम्म पुर्याइएको छ।
प्राधिकरणका अनुसार हाल नदी नालाहरूमा पानीको बहाव बढेको, साथै निजी क्षेत्रबाट उत्पादन हुने विद्युत् परिमाणमा पनि वृद्धि भएको छ। यस्तै, भारतले पनि आयात गर्न सकिने समयावधि थप गरेको कारणले उद्योग क्षेत्रमा भइरहेको लोडसेडिङ कम हुने अनुमान गरिएको छ।
‘बिहान २ बजेदेखि साँझ ५ बजेसम्म अब औद्योगिक ग्राहकहरूलाई आवश्यकताअनुसार विद्युत् आपूर्ति गर्न सकिनेछ,’ प्राधिकरणले जनाएको छ।
उद्योगहरूमा नियमित र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणले आन्तरिक उत्पादन पर्याप्त नभएसम्म भारतबाट विद्युत् आयातलाई उच्चतम प्राथमिकतामा राखेर व्यवस्थापन गरिरहेको छ। यसले औद्योगिक क्षेत्रमा देखिएको विद्युत् अभावसम्बन्धी समस्या समाधान हुनेमा प्राधिकरणले विश्वास व्यक्त गरेको छ।














