काठमाडौं । ओडिसाको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रिसा शाहको मृत्युप्रति भारतीय विदेश मन्त्रालयले गहिरो शोक व्यक्त गरेको छ । मन्त्रालयले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै मृतक विद्यार्थीको परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यो दुखद घटनाको जानकारी प्राप्त भएदेखि नै भारतीय विदेश मन्त्रालय ओडिसा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको छ। ओडिसा सरकारले मृतकको परिवारलाई पूर्ण सहयोग प्रदान गरिरहेको छ, र प्रहरीले घटनाको गहन अनुसन्धान गरिरहेको छ।’
भारत सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा र हितलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्रालयले भनेको छ,’हामी नेपाली अधिकारीहरू, ओडिसा सरकार र केआईआईटी प्रशासनसँग निरन्तर समन्वयमा छौँ।’
वीरगञ्ज स्थायी घर भएकी १८ वर्षीया प्रिसा शाह किटमा स्नातक प्रथम वर्षमा अध्ययनरत थिइन्। उनको मृत्युको खबर प्राप्त भएलगत्तै भूवनेश्वर प्रहरीका वरिष्ठ अधिकारीहरू र फरेनसिक टोली घटनास्थलमा पुगेका थिए । शवलाई अस्पताल पठाइएको छ, र घटनास्थललाई प्रहरीले सुरक्षित राखेको छ । शाहको बुबा भूवनेश्वर पुगेपछि मात्र पोस्टमार्टम गरिने बताइएको छ ।
यसअघि फागुन २०२४ मा पनि केआईआईटीमा अर्की नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको थियो। उनले एक युवकबाट मानसिक यातना भोगिरहेको भन्दै पटक-पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन्। तर, उजुरीको सुनुवाइ नहुँदा उनले ज्यान गुमाउनुपरेको थियो ।














