Logo
Logo

नक्कली कलेज खोलेर करोडपति


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । देशको सिस्टम यति कमजोर छ कि देश र जनतालाई ठगेर गलत बाटोबाट सजिलै कोही व्यक्ति रातारात करोडपति बन्न सक्ने अवस्था छ । प्रहरीले हालै गरेका केही अनुसन्धानले यस्तै भन्छ ।
एक समूहले अरुको नागरिकतामा कम्पनी खोलेर ७८ करोड रुपैयाँ ठगी गरे । जसमा संलग्न चार जनालाई सीआईबीले पक्राउ ग¥यो । तर, उनीहरुको पैसा भेटिएको छैन । अहिले सीआईबीले अर्काे एउटा ठगी घटनाको अनुसन्धान गरिरहेको छ, जसमा नक्कली कलेज खोलेर केही व्यक्तिहरुले करोडौं कमाएको खुलेको छ ।

ललितपुरको लगनखेलमा इन्टरनेशनल इन्टिच्यूट अफ होटल म्यानेजमेन्ट(आईएचएम) नामक कलेज स्थापना गरिएको छ । पोल्याण्डको विश्वबिद्यालयबाट सम्बन्धन प्राप्त भनेर प्रचार गरी बिद्यार्थीलाई लोभ्याउने काम भएको छ । यूरोपको विश्वबिद्यालयको सम्बन्धन प्राप्त कलेजबाट सम्बन्धन प्राप्त कलेज भनेपछि यूरोप जान सहज हुने ठानेर बिद्यार्थीहरु त्यहीँ पढे । तर, जब यूरोप जान प्रयास गर्दा थाहा भयो, त्यो विश्वबिद्यालयबाट कलेजले सम्बन्धन नै प्राप्त गरेको छैन ।
सुरुमा पीडित बिद्यार्थीहरु ललितपुर प्रहरीमा गए । तर ललितपुर प्रहरीले यति गम्भीर विषयमा छानबिनको चासो दिएन । त्यसपछि सिटिइभिटीमा गए । उसले पनि कलेजबाट पैसा बुझिरहेको थियो, जसकारण सिटिइभिटीले पनि कारबाहीमा चासो लिएन । पछि घटना सिआईबीमा पुगेपछि अनुसन्धान गर्दा अवस्था निकै भयानक रहेको देखियो ।
एकातर्फ सिटिईभिटीबाट थोरै कोर्षको सम्बन्धन लिएर धेरै कोर्ष पढाएको सर्टिफिकेट बितरण गरिएको थियो । यसरी उनीहरुले ३० वटा ब्याच उत्पादन गरिसकेका छन् । अनधिकृत रुपमा बिदेशी विश्वबिद्यालयको लोगो प्रयोग गरेर बिद्यार्थी ठग्ने काम भइरहेको थियो । ६ महिने कोर्षका लागि उनीहरुले प्रतिव्यक्ति तीन लाख रुपैयाँसम्म लिने गर्दथे । यसरी उनीहरुले १२ करोड रुपैयाँ कमाएको प्रहरी अनुसन्धानमा देखिन्छ ।
प्रहरीले सो कलेजका पूर्व सञ्चालक रंजित थापा, हालका सञ्चालक मनोज भण्डारी, पूर्व म्यानेजर सुरज प्रसाई लगायतलाई पक्राउ गरेको छ ।
यो घटनाको अनुसन्धान गर्दा अर्काे के पनि खुलेको छ भने कतिपय कलेजहरु त सिटिइभिटीबाट सम्बन्धन नलिइकनै सञ्चालन भइरहेका छन् । शिक्षा जस्तो संवेदनशील क्षेत्रमा यसरी सर्टिफिकेटको व्यापार भइरहँदा पनि शिक्षा मन्त्रालय बेखबर छ । सबै जिल्लामा शिक्षा मन्त्रालयको संयन्त्र छ, तर उनीहरु आफ्नै खल्ती भर्नमा मात्र व्यस्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्