Logo
Logo

नीति तथा कार्यक्रम पूर्ण रूपमा सबै सही छन् : प्रधानमन्त्री ओली


315
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूलाई संसद्मा तयारीका साथ सहभागी हुन निर्देशन दिएका छन् । शनिवार बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पूर्ण रूपमा उचित भएको बताउँदै उक्त कार्यक्रमको बचाउ गर्न सांसदहरूलाई आग्रह गरे ।

‘सरकारको नीति तथा कार्यक्रम सही छ भन्नेमा ढुक्क हुनुपर्छ,’ उनले भने, ‘संसदमा उठेका हरेक गलत आरोप र टिप्पणीको यथासमयमा प्रतिवाद गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले विपक्षी दलहरूको चरित्र नै विरोध गर्ने भएको आरोप लगाए । ‘सत्य भए पनि विरोध गर्छन्, असत्य भए पनि विरोध गर्छन्,’ भन्दै उनले विपक्षीले नीति तथा कार्यक्रमका कुनै पनि बुँदाको सकारात्मक मूल्याङ्कन नगरेको बताए ।

ओलीले संसद्मा व्यक्त गरिएका असत्य वा भ्रामक अभिव्यक्तिलाई रेकर्डबाट हटाउने परिपाटीप्रति असहमति जनाउँदै ती अभिव्यक्तिहरू पनि अभिलेखमै रहनु पर्ने धारणा व्यक्त गरे। ‘गलत कुरा बोलियो भने पनि रेकर्डमै रहनुपर्छ, ताकि भविष्यका पुस्ताले थाहा पाओस् कि हाम्रा अगुवाहरूले के बोलेका थिए,’ उनले भने।

सांसदहरूलाई तयारीसहित संसद्मा उपस्थित हुन आग्रह गर्दै ओलीले बुँदागत रूपमा विषयवस्तु टिपोट गरी जाने बानी बसाल्न सुझाव दिए । ‘बुँदा बनाएर गएमा कुनै कुरा छुट्दैन र व्याख्या गर्न सजिलो हुन्छ,’ उनले भने।

एमाले विचार र मुद्दाको हिसाबले मात्र होइन, आकारको हिसाबले पनि ठुलो दल भएको उल्लेख गर्दै उनले संसद्मा प्रभावकारी रूपमा उपस्थिति जनाउन सांसदहरूलाई आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्