काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले सङ्क्रमणकालीन न्यायसम्बन्धी अधुरा काम टुङ्ग्याउने प्रक्रियामा सकारात्मक प्रगति भएको बताएका छन् । आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलपछि पुनले उक्त धारणा राखेका हुन् ।

छलफलमा सहभागी पुनका अनुसार, सङ्क्रमणकालीन न्यायको विषयलाई मुख्य एजेन्डा बनाउँदै दुई नेताबीच गम्भीर छलफल भएको थियो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘प्रक्रिया सकारात्मक रूपमा अघि बढेको पायौँ। खासगरी यो कहाँ पुगेको छ भन्ने जानकारी प्रमुख प्रतिपक्षी दलका नेतालाई दिइयो ।’
उनका अनुसार सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारीको सर्टलिस्ट सार्वजनिक भएपछि उठेका सरोकारका विषयमा पनि छलफल भएको थियो । ‘सर्टलिस्ट सार्वजनिक भएपछि सरोकारवालाहरूले प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग आफ्ना कुरा राखेका रहेछन् । भोलि प्रचण्डसँग पनि भेटको समय लिएको जानकारी प्राप्त भएको छ,’ पुनले भने ।














