काठमाडौं । नेपाल बाल संगठन (बालमन्दिर)को जग्गा हिनामिनामा १७ जनाविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । ६० करोड ३९ लाख ७७ हजार २७१ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको थियो।
सुरुमा सरकारको दबाबमा मुद्दा नचलाउने प्रक्रिया अघि बढेकोमा महान्यायाधिवक्ता कार्यालयले मुद्दा चलाउने निर्णय गरेर सरकारी वकिल कार्यालयलाई सोहीअनुसार निर्देशन दिएको थियो । निर्देशनलगत्तै मुद्दा दायर भएको हो ।

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंहसमेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो । तर, कसैलाई पनि पक्राउ नगरी मुद्दा दायर गरिएको छ ।
बालमन्दिरको जग्गा नियम मिचेर बृहस्पति विद्यासदनलाई लिजमा दिएर संस्थालाई ठगी गरेको भन्दै मुद्दा दायर भएको हो । सिंहसहित तुलसीनारायण श्रेष्ठ, गणेशभक्त श्रेष्ठ, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी गुरुङ (कोने), दीपकराज श्रेष्ठ, प्रवीणराज जोशी, मुरारीनिधि तिवारी, पुरुषोत्तमराज जोशी, श्रद्धा संघाई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेविरुद्ध मुद्दा दायर गरिएको छ ।
मृत्यु भएको भन्दै तीन जनाको हकमा मुद्दा नचल्ने निर्णय गरिएको छ । मृत्यु भएका कारण मुद्दा नचल्नेहरूमा बृहस्पती विद्यालय व्यवस्थापन प्रालि (वृहस्पती विद्यासदन)का अख्तियार प्राप्त तत्कालीन अध्यक्ष चिरन्जिवि तिवारी, नेपाल बाल संगठनका तत्कालीन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ र नेपाल बाल संगठनका तत्कालीन उपमहासचिव सुमन शाक्यविरुद्ध मुद्दा नचल्ने निर्णय भएको अभियोगपत्रमा उल्लेख छ ।
नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को नाममा रहेको ११९ रोपनी १२ आना ३ पैसा जग्गामध्ये २८ रोपनी ५ आना १ पैसा हाल वृहस्पति विद्या सदनले भाडामा लिएको छ । वृहस्पतिले भाडामा लिएकोमध्ये ५ रोपनी जग्गा राई स्कुललाई २०७६ सालदेखि भाडामा दिएको थियो ।
२०५९ सालमा उक्त जग्गा २०८९ सालसम्म भाडामा लिनेदिने सम्झौता भए पनि उक्त अवधि सकिन १७ वर्ष बाँकी हुँदै २०७२ साल साउन ३ गते थप ३८ वर्षका लागि सो जग्गा वृहस्पति विद्या सदनले भोगचलन गर्न पाउने गरी सम्झौता भएको थियो ।
पछिल्लो सम्झौता अनुसार यो जग्गा वृहस्पति विद्या सदनले २१२७ सालसम्म उपभोग गर्न पाउने देखिएको छ ।
भाडादर प्रतिरोपनी ३ लाख ९३ हजार रुपैयाँका दरले २८ रोपनीभन्दा बढी जग्गाको वार्षिक भाडा १ करोड १० लाख रुपैयाँ लिने गरी नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्य र वृहस्पति विद्या सदनका तर्फबाट पुरुषोत्तमराज जोशीले सम्झौता गरेका थिए ।
चलनचल्तीको भाडाभन्दा कम दरमा भाडामा लिनेदिने सम्झौता गरेर ठगी गरेको भन्दै बाल संगठनका तर्फबाट परेको उजुरीमा सीआईबीले अनुसन्धान गरेको थियो ।











