
काठमाडौं । प्रहरीले लुटपाटमा संलग्न दुई युवतीसहित ८ जनालाई पक्राउ गरेको छ । आफूलाई प्रहरी दाबी गर्दै डरत्रास देखाएर नगदसहित लाखौं रुपैयाँ लुटेको आरोपमा प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट आठ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सन्दीप परियार, सन्दीप बिक, अतीत क्षेत्री, बादल तामाङ, अनीश केसी, विवेक मल्ल ठकुरी, सक्रिया खनिया र कविता राई रहेका छन् ।
उनीहरुले युवतीमार्फत फसाएर कलंकीस्थित होटल मेन्सको कोठा नम्बर ४०२ मा नक्कली प्रहरी बनेर धम्कयाई दुई युवकमाथि योजनाबद्ध रूपमा (३ लाख ६३ हजार)लुटपाट गरेका थिए ।
तर पछि ती ‘प्रहरी’ वास्तवमा नक्कली भएको थाहा पाएपछि पीडितले उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा डीएसपी रोशन खड्काको नेतृत्वमा अनुसन्धान टोलीले घटनामा संलग्न आठ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूको साथबाट ५२ हजार रुपैयाँ नगद, विभिन्न कम्पनीका ९ वटा मोबाइल फोन र एउटा मोटरसाइकल पनि बरामद भएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














