काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका हास्यास्पद दाबीहरूले नेपाली राजनीति र मिडियामा बारम्बार चर्चा पाउँछन् । उनको वाक्पटुता, उखान–टुक्का र विवादास्पद अभिव्यक्तिहरूले कतिपयलाई हँसाउँछ भने कतिपयलाई आलोचनाको आधार दिन्छ ।
हालै, ओलीले ‘आफ्नो आग्रहका कारण भारत र पाकिस्तानबीच युद्ध रोकिएको’ दाबी गरेपछि सामाजिक सञ्जालमा फेरि हाँसोको विषय बनेको छ ।

सोमबार लुम्बिनीमा आयोजित २५६९औँ बुद्ध जयन्ती समारोहमा उनले भने, ‘भर्खर केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा झन्डै झन्डै भारत र पाकिस्तानको अलिकति हात हालाहाल त भएको थियो । तर, हात हालाहाल बढ्न पाएन । संयमका लागि उहाँहरूलाई धन्यवाद छ । हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् है यो । यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भनेर कामना गर्यौँ । उहाँहरूसँग पनि कुरा गर्यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।’
उनको यो अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा व्यापक ट्रोलको विषय बनेको छ ।
यस्ता हास्यास्पद दाबीहरू ओलीका नयाँ होइनन् । यसअघि पनि उनीले यस्ता हास्यास्पद अभिव्यक्ति बारम्बार दिएका छन् । यहाँ उनका केही चर्चित अभिव्यक्तिहरू प्रस्तुत गरिएका छन्–
पानीजहाज र रेल (२०७४): चैत ९, २०७४ मा तत्कालीन प्रधानमन्त्री ओलीले दुई वर्षभित्र पानीजहाज र रेल ल्याएर सबैलाई छक्क पार्ने दाबी गरेका थिए ।
२९औँ राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै उनले ढिलोमा २०७६ सालभित्र नेपाली झण्डावाहक पानी जहाजले सामान ओसारपसार गर्ने बताएका थिए ।
उनले भनेका थिए- ‘मान्छेहरूले अलिअलि उडाए, यो समयमा रेल ल्याउँछु भन्यो के नचाहिने कुरा भने । म अहिले भन्छु, नेपालमा रेल ल्याउँछु भन्दा दुई वर्षअगाडि मजाक उडाएका थिए । अब दुई वर्षपछि ती ठट्टा गर्ने मान्छे भेटिने छैनन् किनभने रेल कुद्छ, मान्छे छक्क पर्छन् ।’
सुपर कम्प्युटरको दाबी (२०७५): सन्दर्भ थियो नेपाल टेलिभिजनको ३५औँ स्थापना दिवसको। टेलिभिजनको ४ वटै च्यानल एचडी प्रणालीमा गएको अवसरमा तत्कालीन प्रधानमन्त्री ओलीले नेपाल सबै क्षेत्रमा अघि बढेको बताए । मन्तव्यकै क्रममा ओलीले नेपालले विश्वमै दुर्लभ किसिमको सुपर कम्प्युटर निर्माण गरेको पनि बताउन भ्याए ।कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भनेका थिए, ‘नेपालले दुनियाँमै दुर्लभ सुपर कम्प्युटर निर्माण गरेको छ। केही नेपाली वैज्ञानिक र केही स्विट्जरल्यान्डका वैज्ञानिक मिलेर सुपर कम्प्युटर निर्माण भएको छ। सुपर कम्प्युटर निर्माण गरेर डाटा प्रोसेसिङ, इ–गभरनेन्स, पेपरलेस अफिस आदिबाट डिजिटल नेपालको विकास गर्ने काममा हामी लागेको छौं ।’
त्यसबेला ओलीको यो दाबीले सामाजिक सञ्जालमा व्यापक ट्रोल र मिम्सको बाढी ल्यायो ।
अम्बाको पात र कोरोना उपचार (२०७७): ओलीले कोभिड–१९ बाट बच्न तातो पानीको बाफ लिने, नुन–पानीले कुल्ला गर्ने र अम्बाका पात उमालेर गार्गल गर्दा फाइदा हुने दाबी गरेका थिए । त्यसबेला पनि प्रधानमन्त्री नै थिए ।
हिमालय टेलिभिजनमा अन्तर्वार्ता दिँदै ओलीले भनेका थिए– ‘अम्बाको पात उमालेर गार्गिल गरे कोरोना लाग्दैन । झुकिएर लागि हाले स्टिम लिने ।’
उनले बेसार पानी र घरेलु विधिबाट कोरोना निको हुने पटक–पटक बताए पनि चिकित्सकहरूले यस्ता दाबीको वैज्ञानिक पुष्टि नभएको भन्दै आलोचना गरेका थिए । यो अभिव्यक्तिले पनि सामाजिक सञ्जालमा हाँसोको लहर चलायो ।
नक्कली अयोध्या विवाद (२०७७): ओलीले भारतले ‘नक्कली अयोध्या’ बनाएर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको दाबी गरेका थिए । उनले भगवान् रामको जन्म नेपालको ठोरीमा भएको र अयोध्या नेपालमै रहेको दाबी गरेका थिए । यो अभिव्यक्तिले नेपाल र भारत दुवै देशमा व्यापक आलोचना र हाँसोको विषय बन्यो। भारतीय मिडियाले यसलाई गम्भीरतापूर्वक लिएर समाचार बनाए तर नेपालमा धेरैले यसलाई ओलीको उटपट्याङ अभिव्यक्तिको रूपमा लिए ।
योगको उत्पत्ति नैपालमा (२०७८): ओलीले योगको उत्पति नेपालमै भएको दाबी गरेका थिए । भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको भनाइ थियो । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा उनले भनेका थिए– ‘योगको उत्पति भारतमा भएको होइन। त्यो समय भारत भन्ने देश नै थिएन । त्यहाँ रजौटा थिए। स–साना राज्यहरू थिए । त्यसैले योगको उत्पत्ति नेपाल वा उत्तराखण्डमा भएको हो। त्यही भन्नुपर्थ्यो ।’
योगको विज्ञानको उत्पत्ति जतिबेला धर्मप्रति मान्छेको कम आस्था थियो त्यतिबेला नै योगप्रति मान्छेले विश्वास गर्न सुरु गरिसकेका थिए इतिहासकारहरुको दाबी छ । शिवलाई योगका आदि गुरु मान्ने गरिएको छ । हजारौँ वर्ष पहिले हिमालयमा कान्ति शरोबरको तटमा आदि योगीहरूले आफ्नो प्रबुद्ध ज्ञान प्रसिद्ध सप्तऋषिहरुलाई प्रदान गरे । सप्तऋषिहरुले यस ज्ञानलाई एसिया, मध्यपूर्व, उत्तरी अफ्रिका हुँदै दक्षिण अमेरिकासम्म योगलाई फैलाए भन्ने देख्न सकिन्छ ।
यी त ओलीका केही हास्यास्पद दाबीहरूको उदाहरण हुन् । जुनसुकै विषयमा पनि विज्ञ बन्न खोज्ने ओलीका यस्ता हास्यास्पद दाबीहरू धेरै छन् । ओलीको यस्ता दाबीहरू हास्यास्पद बन्नुको कारण अतिशयोक्तिपूर्ण अभिव्यक्ति र उखान–टुक्काको प्रयोग हो । उनका भनाइहरूले तत्काल मिडिया र सामाजिक सञ्जालको ध्यान तान्छ तर वैज्ञानिक आधार वा तथ्यको अभावमा ती आलोचना र हाँसोको विषय बन्छन् ।
साथै, उनको राजनीतिक प्रतिद्वन्द्वी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस्ता भनाइलाई ट्रोल र मिम्स बनाएर व्यापक बनाउँछन् ।














