Logo
Logo

झ्याप्पझ्याप्प बत्ती गएपछि बालेनको व्यङ्ग्य-  हेप्ने सरकारलाई ?


3k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले बारम्बारको बिजुली कटौतीको समस्याप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै सरकारमाथि कटाक्ष गरेका छन् ।

बिहीबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिजुली झ्यापझ्याप जाने र आउने समस्याले जनजीवन प्रभावित भएको छ। यसै सन्दर्भमा मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको आलोचना गरेका हुन् ।

मेयर शाहले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘देशनै डुबाउँदा पनि जनताले नबुझेपछि सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गराएको छ।’ उनको यो भनाइमा सरकारप्रति व्यङ्ग्य र आक्रोश स्पष्ट देखिन्छ। 

उनले थप लेखेका छन्– ‘हेप्ने सरकारलाई ?’  यो अभिव्यक्तिले सरकारको अकर्मण्यता र जनताप्रति गैरजिम्मेवार व्यवहारप्रति उनको रोष झल्किन्छ।

बिहीबारदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा बिजुली झ्याप्पझ्याप्प जाने गरेको छ । यसले सर्वसाधारणको दैनिकीलाई ठूलो असर पारेको छ। विशेषगरी, गर्मीको समयमा बिजुली कटौतीले घरायसी कामकाज, व्यापार–व्यवसाय र विद्यार्थीको पढाइमा समेत बाधा पुगेको छ । 

नेपाल विद्युत् प्राधिकरणले बिजुली कटौतीको कारण प्राविधिक भएको बताएको छ। बत्ती झ्याप्पझ्याप्प गएपछि आमनागरिकले भने अघोषित लोडसेडिङ भएको भन्दै सरकारको तीव्र आलोचना गरिरहेका छन् ।

सरकारको चौतर्फी आलोचना भएपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पत्रकार सम्मेलन गरेर स्पष्टीकरण नै दिनु परेको छ । उनले 

 विद्युत् उत्पादन बढे पनि प्रसारण लाइन सञ्जालको विस्तार नहुँदा विद्युत् आपूर्तिमा समस्या आएको बताएका छन् ।

शाक्यले प्राधिकरणको कमजोर पूर्वाधार, उपकरण र सञ्जालका कारण स्युचाटार, बालाजु र ढल्केबर–पथलैया प्रसारण लाइनमा ओभरलोडको समस्या रहेको बताएका छन् । उनले भने, ‘माग बढ्दा पूर्वाधारले धान्न सकेको छैन, जसले लोडसेडिङको अवस्था आउँछ ।’

यद्यपि, प्राधिकरणले यो समस्याको दीर्घकालीन समाधानका लागि ठोस योजना सार्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनुहोस्