काठमाडौं । जनता आवास कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरमा चालु आर्थिक वर्ष २०८१/८२ मा २० वटा दुई कोठे घर निर्माण हुने भएका छन् । सहरी विकास तथा भवन कार्यालय, कैलालीमार्फत सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा विपन्न परिवारका लागि कैलालीमा १० र कञ्चनपुरमा १० घर निर्माण हुन लागेको कार्यालयका सूचना अधिकारी रोहित अधिकारीले बताए ।

उनका अनुसार, हालसम्म १५ घर निर्माणका लागि सम्झौता भई काम सुरु भइसकेको छ । कैलालीको भजनी नगरपालिका–२, ५, ८ र ९ मा १० घर र कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–३ र ७ मा ५ घरको निर्माण कार्य अघि बढेको छ । यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–११ र १२ मा थप ५ घर निर्माणका लागि लाभग्राही छनोट भइसकेको र चाँडै सम्झौता भएर काम सुरु हुने अधिकारीले जनाए ।
प्रदेश सरकारले २० घर निर्माणका लागि ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कैलालीमा प्रतिघर निर्माण लागत ४ लाख ८३ हजार ९९१ र कञ्चनपुरमा ४ लाख ९६ हजार २३३ अनुमान गरिएको छ । कार्यालयले प्रतिघर ३ लाख ५० हजार उपलब्ध गराउने र बाँकी रकम बराबरको श्रमदान लाभग्राहीले गर्ने व्यवस्था छ । चालु आर्थिक वर्षभित्रै सबै घर निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।














