Logo
Logo

एक्लिए बालेनः कसैले दिँदैनन् साथ, उपमेयरदेखि वडाध्यक्षसम्म असन्तुष्ट


5.2k
Shares

काठमाडौं । देशको संघीय राजधानी समेत रहेको सबैभन्दा ठूलो महानगर काठमाडौं महानगर पछिल्लो समय लथालिङ्गको स्थितिमा पुगेको छ । कार्यसम्पादनमा जिल्लाभरकै सबैभन्दा कमजोर देखिएको काठमाडौं महानगरमा बेरुजु भने महानगरहरूमध्ये सबैभन्दा अघि रहेको छ ।

महालेखा परीक्षकको कार्यालयले गत बुधबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा काठमाडौं महानगरमा ६८ करोड २ लाख बेरुजु रहेको देखिएको छ । त्यसमाथि मेयर, उपमेयर र वडाध्यक्षहरूबीचको तनावले महानगरको प्रशासनिक काम महिनौँदेखि प्रभावित बन्दै आएको छ ।

नियमित कार्यतालिका अनुसार महानरको कार्यपालिकाको बैठक महिनामा एक पटक बस्नुपर्ने हो । विगतमा यो तालिका अनुसार नै कार्यपालिका बैठक बस्दै आएको थियो । तर, मेयर, उपमेयर र वडाध्यक्षहरूबीचको टसलले पछिल्लो समय पाँच महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन ।

काठमाडौं महानगरका मेयर बालेन शाहको नेतृत्वले एकातिर सकारात्मक परिवर्तनको आशा जगाएको छ भने अर्कोतिर उनको एकलौटी शैलीले सहयोगीहरूलाई टाढा धकेल्दै छ । सुरु–सुरुमा उनको जोश, युवा नेतृत्व र परम्परागत राजनीतिबाट अलग रहेर काम गर्ने शैलीले व्यापक समर्थन पाएको थियो । तर, पछिल्लो मेयर शाह आफ्नै कार्यशैलीले महानगरभित्रै एक्लिँदै गएका छन् । उनको कार्यशैली, एकलौटी निर्णय र सहकार्यको अभावले उपमेयर, वडाध्यक्षहरू, कर्मचारी र स्थानीय व्यवसायीहरूसँगको सम्बन्धमा तिक्तता बढ्दै गएको छ ।

मेयर शाहले आफ्ना आलोचकहरूलाई चलाएको कारबाहीको दण्डले पनि त्यो स्पष्ट हुन्छ ।
उनले आफ्नो आलोचना गर्ने वडाध्यक्ष नवीन मानन्धरलाई प्रवक्ताबाट हटाएका छन् । गत चैत २१ गते प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा प्रवेश गराउन मुख्य भूमिका खेलेका मानन्धरलाई हटाएर नयाँ प्रवक्तामा वडा नम्बर पाँचका वडाध्यक्ष वीरेन्द्र प्रजापतिलाई तोकिएको छ ।

गुरागाईंलाई वडाअध्यक्षहरू र कर्मचारीले नगरप्रहरीको घेरा तोड्दै कमलादीस्थित कार्यालयमा छिराउँदा मानन्धर अग्रमोर्चामा थिए । त्यसपछि उनले बालेनलाई तीन वर्षसम्म काँधमा हालेर बोके पनि अब नसकिने भन्दै कडा आलोचना गरेका थिए । बालेनले कार्यपालिका अन्तर्गत चार वटा समितिका संयोजकहरूको जिम्मेवारी पनि हेरफेर गरेका छन् । बालेनले आफ्नो विरोधमा उत्रिने र प्रमुख प्रशासकीय अधिकृतको पक्षमा उभिने वडाध्यक्षहरूलाई भूमिकाविहीन बनाएका छन् । नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम एक बमोजिम नयाँ संयोजक तोकिएको छ । जसअनुसार सूचना प्रविधि समिति, सुशासन समिति, सम्पदा तथा पर्यटन समिति र विधायन समिति छन् ।

यी समितिमा क्रमशः वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर, वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी, वडा नम्बर ८ का अध्यक्ष आशामान संगत र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जन संयोजक थिए ।

अब ती समितिमा क्रमशः वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापती, वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारी र वडा नम्बर १६ का अध्यक्ष रोजिना श्रेष्ठ संयोजक तोकिएका छन् ।

तर, तीन वडाध्यक्षले विषयगत समितिको संयोजक जिम्मेवारी नलिने निर्णय गर्दै पत्र पठाएका छन् । सुशासन समितिका संयोजक दलबहादुर कार्की, सूचना प्रविधि समितिका संयोजक वीरेन्द्र प्रजापति र सम्पदा तथा पर्यटन समितिका संयोजक विनोद राजभण्डारीले संयुक्त हस्ताक्षरित पत्रमा कार्यपालिका बैठकबाट नियुक्ति अनुमोदन नभएको भन्दै जिम्मेवारी नलिने जनाएका छन् ।पार्टी नेतृत्वले समेत मेयरको मनपरी नियुक्तिमा सहभागी नहुन निर्देशन दिएको स्रोतको दाबी छ।

उपमेयर सुनिता डंगोलसँग पनि तनाव उस्तै
मेयर बालेन र उपमेयर सुनिता डंगोलबीचको तिक्तता पनि उस्तै छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई मेयरले रोक्न खोज्दा उपमेयर डंगोल, वडाध्यक्षहरू र कर्मचारीहरूको सहयोगमा गुरागाईं कार्यालय प्रवेश गर्न सफल भए । यो घटनाले मेयर र उपमेयरबीचको कार्यशैलीमा ठूलो मतभेद रहेको स्पष्ट देखाउँछ । उपमेयर सुनिताले स्टन्टले मात्रै देश नचल्ने भन्दै बालेनमाथि तीखो व्याङ्ग्य गर्ने गरेकी छन् ।

मेयरको कार्यशैलीलाई लिएर राजनीतिक दलहरूले समेत आफ्नो स्वार्थअनुसार व्याख्या गर्न थालेका छन् । कतिपयले उनलाई ‘राजावादी’को समर्थन प्राप्त भएको भन्दै विवादमा तान्ने प्रयास समेत गरेका थिए । तर, गत चैत १५ गतेको आन्दोलनमा राजावादीले जथाभावी फोहोरमैला गरेको र सडक छेउछाउका रुख, बिरुवा र रेलिङ तोडफोड गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई आठ लाख जरिवानका गरेका थिए । त्यसपछि उनी राजावादीहरुको निशानामा पनि पर्दै आएका छन् । जसले गर्दा उनको समर्थक घटेका छन् भने विरोधि बढेका छन् । मेयर शाहले आफ्नो नेतृत्वलाई कसरी अगाडि बढाउँछन् र यो विवादलाई कसरी समाधान गर्छन्, त्यो हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्