काठमाडौं । ग्लोबल आइएमई बैङ्कले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक गरेको छ । यो कार्डले हवाई यात्रामा ग्राहकलाई विभिन्न सुविधा र छुट प्रदान गर्नेछ ।

आइतबार काठमाडौंमा आयोजित विशेष समारोहमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले संयुक्त रूपमा कार्डको अनावरण गरे ।
‘ग्लोबल स्काई क्लब कार्ड’ प्रयोगकर्ताले यती एअरलाइन्सको प्रत्येक टिकट खरिदमा १० प्रतिशत (अधिकतम ५०० रुपैयाँ) छुट पाउनेछन् । पहिलो टिकट खरिदमा शतप्रतिशत क्यासब्याकको सुविधा उपलब्ध छ । कार्ड लिएपछि १०० बोनस प्वाइन्ट प्राप्त हुनेछ, जुन विभिन्न छुट र सुविधाका लागि प्रयोग गर्न सकिन्छ । साथै, प्रत्येक १०० रुपैयाँको पस वा ई-कमर्स कारोबारमा १ माइलेज प्वाइन्ट प्राप्त हुनेछ । कार्डवाहकले चेक-इन र बोर्डिङमा प्राथमिकता र सामानको तौलमा थप ५ किलो सुविधा पाउनेछन् ।
रेग्मीले यो सहकार्यले डिजिटल कारोबार र ग्राहकमैत्री सेवा विस्तारमा सहयोग पुग्ने बताए । सापकोटाले दुवै संस्थाका ग्राहकलाई लाभ हुने उल्लेख गरे । बैङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र यतीका रचिफ बिजनेस अफिसर युवराज विष्टले भविष्यमा थप सहकार्य हुने विश्वास व्यक्त गरे ।
ग्लोबल आइएमई बैङ्क, ग्लोबल फाइनान्सको ‘बेस्ट बैङ्क अवार्ड २०२४’ र युरोमनी अवार्ड २०२४ बाट सम्मानित नेपालको अग्रणी वाणिज्य बैङ्क हो । ७७ जिल्लामा ३५४ शाखा, ३८५ एटिएम, २०२ शाखारहित सेवा र ३ वटा वैदेशिक कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ । बैङ्कले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, भारतलगायत देशबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ ।
यती एअरलाइन्सले २६ वर्षदेखि ७ वटा एटीआर विमानमार्फत सुगम र पर्वतीय क्षेत्रमा वार्षिक १० लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गर्दै आएको छ ।











