Logo
Logo

सेवामूलक काममा राष्ट्रसेवकहरु संवेदनशील बन्नुपर्छ : परराष्ट्रमन्त्री


1.1k
Shares

धनगढी । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जनताका आवश्यकता र प्रत्यक्ष खाँचोसँग जोडिएका सेवामूलक काममा राष्ट्रसेवकहरु संवेदनशील बन्नुपर्ने बताएकी छन् ।

शनिबार राहादानी विभागद्वारा सुदूरपश्चिम प्रदेशका जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्त्रोधन गर्दै गर्दै उनले यस्तो बताएकी हुन् ।

‘राहादानी अब नागरिकको कुनै विलासिताको वस्तु नभएर प्रत्येक नागरिकको आधारभूत अधिकार भएको छ । त्यसैले यो सेवा दिने कार्यालयको ‘फ्रन्ट डेस्क’ मा बस्ने यहाँहरु सबैभन्दा जिम्मेवार व्यक्ति हुनुहुन्छ । सेवाको आवश्यकता र जनताका खाँचोलाई हेरेर गम्भीर भइ दिनुहोला’ उनले भनिन् ।

उनले यस्तो संवेदनशील सेवा दिने ठाउँमा बसेका कर्मचारीले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने र के कसरी उनीहरुलाई छिटोछरितो र सहज सेवा दिन सकिन्छ भनेर सोच्नुपर्ने सुझाव पनि दिइन् ।

सुदूरपश्चिम तथा यस्तै दुर्गम जिल्लामा दिइने सेवालाई अझ कसरी सहज र नागरिकको पहुँचयोग्य बनाउने भन्ने बारेमा सरकार प्रयत्नशील रहेको मन्त्री डा राणाको भनाइ छ ।

मन्त्री राणाले भनिन्, ‘राहादानी लिनका लागि पहिलेजस्तो जटिल अवस्था अहिले छैन । तर पनि सेवा प्रदान गर्ने समय र वितरणका क्रममा केही समस्या आउने गरेका मैले सुनेकी छु । सरकारी सेवा जतिसक्दो चाँडै पाइयोस् भन्ने अपेक्षा जनताले राख्नु स्वभाविकै हो । यसै बमोजिम सेवालाई सरल, सहज र पहुँचयोग्य बनाउनु सरकारको कर्तव्य हो र यसका लागि यहाँहरुकै भूमिका बढी रहन्छ ।’

उनले राहादानीसम्बन्धी वर्तमान सेवालाई दुर्गम जिल्लाहरुका नागरिकलाई अझ सहज र पहुँचयोग्य कसरी बनाउने भनेर सरकारलाई सुझाव दिन आग्रह गरिन् । ‘पासपोर्टमा जनतालाई परेका समस्या र त्यसमा गर्न सकिने सुधारका लागि यहाँहरुले सरकारलाई सुझाव दिन सक्नुुहुनेछ । त्यसमा सरकारले समयानुकूल सुधार गर्दै लैजानेछ’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्