काठमाडौं । राजसंस्था पुनस्र्थापनाको माग राख्दै नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समिति आन्तरिक विवादका कारण फुटेको छ ।

समितिका प्रवक्ता स्वागत नेपालले आफू प्रवक्ताको पदबाट बाहिरिएको सङ्केत गर्दै राजावादी आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउने घोषणा गरेका छन् ।
नेपालले आइतबार बिहान सामाजिक सञ्जालमार्फत समितिका नेताहरूमाथि कडा टिप्पणी गरेका छन् । उनले आफूलाई स्वतन्त्र र कानुनी पृष्ठभूमिको व्यक्तिको रूपमा समितिमा थपिएको बताउँदै नेताहरूको स्वार्थ र अहङ्कारले आन्दोलन कमजोर भएको आरोप लगाए ।
“एकजनाबाहेक सबै व्यक्ति कुनै न कुनै दल वा अभियानमा संलग्न थिए । मैले बुढाहरूलाई मिलाउन र सम्झाउन हर सम्भव प्रयास गरेँ, तर तिनको स्वार्थ र अहङ्कारले आन्दोलनलाई कमजोर बनायो,” उनले लेखेका छन् । “समीक्षा बैठक मिडियाको बीचमा गरेर जनभावनालाई तुहाउने प्रयास भयो, तर युवाहरूले यो तुहिन दिने छैनन् । आन्दोलन सफल भएरै छोड्छ ।”
नेपालले भने, “अवसरवादी, अहङ्कारी र स्वार्थी बुढाहरूलाई छोडेर अब आन्दोलन नयाँ शिराबाट आउनेछ । साँच्चैका स्वतन्त्र नागरिकहरू, चाहे जुनसुकै पार्टीमा होऊ वा कुनै पार्टीमा नहोऊँ, राष्ट्रिय स्वाधीनताको शान्तिपूर्ण विद्रोह चाँडै सुरु हुनेछ । यो वैश्विक महत्त्वको ऐतिहासिक युद्ध हुनेछ ।”
राजसंस्था पुनस्र्थापनाको माग नेपालमा लामो समयदेखि विवादास्पद रहँदै आएको छ । संयुक्त जनआन्दोलन समितिको फुटले यो मुद्दालाई थप कमजोर बनाउने जोखिम छ । नेपालको नयाँ आन्दोलनको घोषणा र पुराना नेतृत्वप्रतिको असन्तुष्टिले राजावादी आन्दोलनमा नयाँ समीकरण बनाउने सम्भावना देखिए पनि यसको सफलता नेतृत्वको एकता, रणनीति र जनसमर्थनमा निर्भर रहनेछ ।














