Logo
Logo

८४ मा एमाले निर्णायक राष्ट्रिय शक्ति बन्छ : ओली  


819
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन् २०८४ मा आफ्नो पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताएका छन् । अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यो उद्देश्यलाई ‘मिसन ८४’ को संज्ञा दिएका हुन् ।

 

“मिसन ८४ कुनै अमूर्त कुरा होइन । यो भनेको नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्नु हो,” ओलीले भने । उनले एमालेले राष्ट्रिय शक्तिको आधार तयार पारिसकेको र अब यसलाई थप सुदृढ गर्ने दिशामा काम भइरहेको बताए ।

प्रधानमन्त्री ओलीले आगामी १३ महिनापछि सरकारको नेतृत्व नेपाली कांग्रेसलाई हस्तान्तरण गर्ने र त्यसपछि एमाले मिसन ८४ को तयारीमा जुट्ने उल्लेख गरे । “हामी १३ महिनापछि कांग्रेसलाई नेतृत्व सुम्पन्छौँ, तर सरकारमा सहभागी रहनेछौँ,” उनले भने ।

उनले विगतमा विश्वव्यापी कम्युनिस्ट र समाजवादी आन्दोलन सङ्कटमा परेका बेला जनताको बहुदलीय जनवाद ९जबज० ले नेपालमा आन्दोलनको रक्षा गरेको स्मरण गरे । “जबजकै कारण हामीले सरकारको नेतृत्व, सामाजिक आन्दोलनको अगुवाइ र देशको समग्र विकासको जिम्मेवारी सम्हाल्न सक्यौँ,” उनले भने ।

विपक्षीहरूले विभिन्न जालझेल गरिरहेको आरोप लगाउँदै ओलीले पार्टीभित्र एकताको आवश्यकता औँल्याए। “एकता, फेरि एकता र सुदृढ एकता हाम्रो आवश्यकता हो। एकताविना सङ्गठनले कुनै परिणाम दिन सक्दैन,” उनले जोड दिए। उनले उदाहरण दिँदै भने, “१० लाख सदस्य भएको सङ्गठनमा पनि आधा एकातिर र आधा अर्कोतिर भए केही हुँदैन ।”

ओलीले एमालेले सही नीति, सिद्धान्त, रणनीति र गन्तव्य तय गरेको दाबी गरे । “हामीले सही नीति लिएका छौँ। चुनौतीहरूबारे पनि हामी जानकार छौँ। अब सही र प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ,” उनले भने ।

लोकतन्त्र, गणतन्त्र र समृद्धिको रक्षा तथा सुदृढीकरणको जिम्मेवारी एमालेको काँधमा रहेको बताउँदै उनले देशलाई सही दिशामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। “हामीले नै साँचो अर्थमा लोकतन्त्र ल्याएका हौं। गणतन्त्रलाई गतिशील र सही बाटोमा अघि बढाउने दायित्व पनि हाम्रै हो,” ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्