Logo
Logo

नेपालमा दन्त चिकित्सकको भूमिका महत्त्वपूर्ण छः मन्त्री यादव


315
Shares

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा दन्त चिकित्सकको आवश्यकता, महत्त्व र माग निकै ठुलो भएको बताएका छन् । आज पिपल्स डेन्टल कलेज एन्ड हस्पिटलले आफ्नो कलेजका प्रमुख संस्थापक दिवङ्गत स्व तीर्थरत्न बज्राचार्यको २२औँ वार्षिक पुण्यतिथिका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपालमा दन्त स्वास्थ्य सेवाको आवश्यकता दिनानुदिन बढ्दो रहेको र दन्त चिकित्सकको भूमिका अझ महत्त्वपूर्ण हुँदै गइरहेको बताए ।

उनले भने, “नेपालमा अझै धेरै ग्रामीण तथा दुर्गम क्षेत्रमा दन्त स्वास्थ्य सेवाको पहुँच कमजोर छ, जसका कारण त्यहाँ दन्त चिकित्सकको माग अत्यन्तै उच्च छ, सरकारले यस दिशामा ध्यान दिइरहेको छ र आगामी दिनमा दन्त स्वास्थ्य सेवा विस्तार गर्ने योजनामा पनि काम भइरहेको छ ।”

दिवङ्गत बज्राचार्यको योगदानको उच्च मूल्याङ्कन गर्दै मन्त्री यादवले स्व बज्राचार्यले नेपाली दन्त चिकित्सक शिक्षाको जग हाल्ने कार्य गर्नुभएको र उहाँको योगदान आज पनि स्मरणीय रहेको उल्लेख गरे । उनले भने, “दन्त स्वास्थ्य सेवाका लागि तीर्थरत्न बज्राचार्यको योगदान ठुलो छ, उहाँको सपना साकार पार्न र नेपाली नागरिकलाई सहज र सुलभ रूपमा सेवा प्रदान गर्ने कार्यमा यस अस्पताल र यहाँका विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका रहन्छ ।”

कार्यक्रममा जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले दन्त स्वास्थ्य सचेतना अभिवृद्धि, ग्रामीण क्षेत्रमा सेवा विस्तार र दन्त चिकित्सक शिक्षामा गुणस्तर वृद्धिका लागि सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेकामा जोड दिए । 

पिपल्स डेन्टल कलेज एन्ड हस्पिटलका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर चन्दले पिपल्स डेन्टल कलेज एन्ड हस्पिटलमा एमबिबिएसको पढाइ सञ्चालन गर्नका लागि भौतिकलगायत अन्य प्रक्रिया अघि सारिए पनि अहिलेसम्म अध्यापनका लागि अनुमति नपाएको भन्दै गुनासो व्यक्त गरे ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य शैलेन्द्र बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठ, पिपल्स डेन्टल कलेजका अध्यक्ष विद्याभूषण बज्राचार्य, सेयर होल्डर शहनशीला बज्राचार्य, प्रबन्ध निर्देशक रोशन लुइँटेल, प्राचार्य प्रा डा सुरेन्द्रमान श्रेष्ठ, विद्यार्थी र विभिन्न स्वास्थ्य क्षेत्रका प्रतिनिधिको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्