Logo
Logo

डिप्रेसनले जन्माएको क्रुर हत्या, अभियुक्त भन्छिन्–हत्यापछि आनन्दले निदाएँ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ साउन ।
आइतबार बिहान टुक्रा टुक्रा अवस्थामा गोंगबुमा शव बरामद गरेपछि प्रहरीको आँकलन थियो–यसमा ठूलै अपराधिक गिरोहको संलग्नता हुनुपर्छ । तर, अनुसन्धानको नतिजा बिल्कुलै फरक निस्कियो । एक महिलाले एक्लै त्यसरी हत्या गरी शरिर टुक्राएर झोलामा राखी सडकमा फालेकी थिइन् । त्यो पनि ठूलो कारण नभई आफुलाई ब्लाकमेल गरेर यातना दिएको प्रतिशोध लिन ।


अभियुक्त कल्पना मुडभरी पौडेललाई पक्राउ गरेपछि पनि यसमा उनलाई अरुले सहयोग गरेको हुनुपर्ने प्रहरीको ठम्याई थियो । ‘तर, उनले एक्लै नै हत्या गरेको पुष्टि भयो,’ अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी भन्छन्,‘सोचेभन्दा फरक नतिजा हो ।’ एक महिलाले यसरी क्रुरतापूर्वक हत्या गर्नुका पछाडी डिप्रेसनको कारण रहेको प्रहरी स्रोत बताउँछ । पारिवारीक तथा आर्थिक समस्याका कारण कल्पना नियमित रुपमा डिप्रेसनको औषधी र स्लिपिङ ट्याब्लेट खाने गर्दछिन् । डिप्रेसनमा रहेका बेला बोहराले उनलाई ब्लाकमेल गरेर थप यातना दिइरहेका थिए । ‘यसले मेरो परिवारलाई सिध्याउँछ भन्ने लागेपछि मैले पहिलेदेखि हत्या गर्ने नै योजना बनाएको हुँ,’ पक्राउपछि कल्पनाले भनेकी छिन् । त्यसरी हत्या गरेर शव फालेपछि आफु आनन्दले निदाएको उनले बताएकी छिन् । आफुलाई पनि ब्लाकमेल गरेर शोषण गर्दै आएको र आफ्नो १५ वर्षिया छोरीलाई समेत यौन दुव्र्यवहार गरेपछि आफुले सहन नसकेको अभियुक्तको बयान छ । शव भेटिएलगत्तै प्रहरीले सो क्षेत्रमा बस्ने सबैको विवरण लिंदा कल्पनाको पनि लिएको थियो । महिला र बच्चा मात्र बस्ने भएकाले प्रहरीले उनीमाथि शंका नै गरकोे थिएन ।
पानी पर्दा जोगिइन्
आइतबार बिहान प्रहरीले घटनास्थलमा तालिमप्राप्त कुकुर प्रयोग गरेको थियो । कुकुरले मृतकको टाउको पत्ता लगायो । तर, हत्या भएको ठाउँ पत्ता लगाउन सकेन । रातभरी पानी परेकाले कुकुरले हत्या भएको घर पत्ता लगाउने नसकेको अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले बताए । कुकुरले गन्धको आधारमा पत्ता लगाउने तर पानीको कारण कुकुरले ट्रेस गर्न सकेन । उता,घटनास्थलमा आएका प्रहरीलाई अभियुक्तले घरबाटै हेरेकी थिइन् । प्रहरीले पत्ता लगाउने डरले एम्बुलेन्स बोलाएर चितवन गएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्