
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले इजरायलसँग ‘बहादुरीपूर्वक लडेको’ प्रतिक्रिया दिएका छन् । नेटो बैठकमा सोधिएको प्रश्नको जवाफ दिँदै ट्रम्पले इरानले भर्खरै युद्धको सामना गरेको र बहादुरीपूर्वक लडेको बताएका हुन् ।
उनले भने, ‘उनीहरूले (इरान) भर्खरै युद्धको सामना गरेका छन् र उनीहरूले बहादुरीपूर्वक लडेका छन् । यदि उनीहरू तेल बेच्न चाहन्छन् भने बेच्न सक्छन् । देश पुनर्निर्माण गर्न उनीहरूलाई पैसा चाहिन्छ ।’
चीनले इरानबाट तेल किन्न सक्ने पनि बताएका ट्रम्पले अर्को हप्ता इरान र अमेरिकाबीच वार्ता हुने पनि बताए । उनले भने, ‘हामी सम्झौता गर्न सक्छौं । मलाई अहिले थाहा छैन । यो आवश्यक पनि छैन । उनीहरूले भर्खरै युद्ध लडेका छन् र उनीहरू (इरान) आफ्नो संसारमा फर्किएका छन् ।
उनले अगाडी थप भने, ‘इरानसँग आणविक हतियार हुन सक्दैन । तिनीहरू नष्ट भएका छन् । हामीले तिनीहरूलाई नष्ट गरेका छौँ ।’ अमेरिकाले गत शनिबार राति इरानका फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा आक्रमण गरेको थियो ।
तर इरानको आणविक प्रतिष्ठानमा आक्रमणबारे पेन्टागनबाट चुहावट भएको प्रारम्भिक गुप्तचर मूल्यांकन रिपोर्टले इरानको आणविक कार्यक्रम नष्ट नभएको र यो केवल ‘केही महिनाको लागि’ पछि धकेलिको दाबी गरेको छ ।










