Logo
Logo

बालेनको निर्णय उल्टियो : काठमाडौं भ्यू टावरको काम अघि बढाउन उच्चको आदेश


1.8k
Shares

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको आदेशमा रोकिएको पुरानो बसपार्कस्थित काठमाडौं भ्यू टावरको निर्माण कार्यलाई यथावत् अघि बढाउन आदेश जारी गरेको छ ।

The current image has no alternative text. The file name is: balen.jpg

न्यायाधीश प्रकाश खरेलको एकल इजलासले सोमबार उक्त आदेश दिएको हो । मेयर शाहले ५ लाख जरिवाना तिराएर नक्सा पास प्रक्रिया अघि बढाएको उक्त टावरको निर्माण कार्य नरोक्न अदालतले निर्देशन दिएको छ । 

यसै प्रकरणमा मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि अनियमित नक्सा पास गरेको आरोप लगाउँदै कार्यालय प्रवेशमा रोक लगाएका थिए । तर, मेयरले गठन गरेको छानबिन समितिले गुरागाईंको कुनै गल्ती नभेटेपछि महानगरभित्र संवादहीनताको अवस्था सिर्जना भएको छ । 

मेयरको अडानका कारण महानगरले बजेट ल्याउनसमेत सकेको छैन । टावर निर्माणको ठेक्का जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्स प्रालिले पाएको थियो । गत माघमा महानगरले निर्माण कार्य रोक्न निर्देशन दिएपछि कम्पनीका सञ्चालकले अदालतमा रिट दायर गरेका थिए । 

अदालतको आदेशमा भनिएको छ, ‘निवेदकले सम्झौताअनुसारको व्यावसायिक भवन निर्माणका लागि प्राप्त नक्सा पासको अनुमति र निर्णय यथावत् रहेको अवस्थामा निर्माण कार्यलाई निरन्तरता दिनु उपयुक्त देखिन्छ। निवेदकको वैध अपेक्षालाई ध्यानमा राख्दै, सुविधा र सन्तुलनको दृष्टिकोणबाट गत माघ ९ गतेको महानगरको पत्र र निर्णय कार्यान्वयन नगर्न उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरिएको छ ।’ यो रिटको अन्तिम सुनुवाइ हुँदा थप निर्णय हुने अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्