Logo
Logo

अस्तित्व बचाउने अन्तिम दाउ कि धोकाको पुनरावृत्ति ?


शरद रिजाल

378
Shares

मुलुकका कम्युनिष्ट पार्टीहरुबीच एकता र विभाजनका लागि कुनै खास राजनीतिक एवं सैद्धान्तिक विषयमा मतभेद आवश्यक पर्दैन । व्यक्तिगत महत्वाकांक्षा र आफ्नो निहीत सत्तास्वार्थ नमिल्दा विभाजित हुने र कमजोर भएपछि पुनः एकताको आवश्यकता देख्ने प्रवृत्ति नेपालको वाम आन्दोलनको पुरानै मनरोग हो । पछिल्लो समय नेपाली राजनीतिमा स्वर्ग र नर्कको भाष्य बनाएका एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीचको सहकार्य, एकता र विभाजन पनि विगतदेखि सत्ता स्वार्थ र आन्तरिक टकरावमै निर्भर रहँदै आइरहेको छ ।

अहिले फरि यी शीर्ष नेताद्वयले आफ्नै पार्टीमा निम्तिएको संकट टार्न वाम एकताको चर्चा सुरु गरेका छन् । एमालेमा आन्तरिक रुपमा संकटमा परेका ओलीले आफ्नो संकट टार्न वाम एकताको अस्त्र फ्याँकेका छन् भने नेकपाका अध्यक्ष प्रचण्डले पनि एमालेसँग सहकार्य गर्ने सार्वजनिक उद्घोष गरिसकेका छन् ।

गत निर्वाचनको लज्जास्पद मतपरिणामपछि दुबै पार्टीमा नेतृत्व परिवर्तनको बहस चलेको थियो । एमालेमा त झनै पार्टी पुनर्गठन र निर्वाचन समीक्षाबारे कार्यदल नै गठन गरेर नेता कार्यकर्ताको सुझाब संकलन गरिएको थियो । तर एमाले अध्यक्ष ओलीले भने ती सबैलाई लत्याएर पार्टीभित्र तत्कालका लागि आफ्नो पद सुरक्षित गरेका छन् ।

स्मरणीय के छ भने, नेतृत्वबाट हट्नुपर्ने चौतर्फी दबाब खेपेका ओलीले उल्टै पार्टीमा नेतृत्वमाथि प्रश्न उठाए कारबाही गर्ने चेतावनीसहितको अन्तरपार्टी निदेर्शिका जारी गर्न सफल भएका छन् । यसअघि नेतृत्व परिवर्तनबिना एमाले अघि बढ्न नसक्ने निष्कर्ष निकालेका पार्टी महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल समेत आफ्नो पूर्ववत अडानबाट पछि हटेर ओली सामु आत्मसमर्पण गर्दै निरीह बनेपछि ओली बलशाली देखिएका हुन् ।

यसपटक विगतमा पूर्वउपराष्ट्रपति विद्या भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा आउन नदिन भरमग्दुर प्रयत्न गरेका एमाले पदाधिकारीहरु अहिले भने विद्यालाई वरिष्ठ नेताका रुपमा स्वीकार्न बाध्य भएका छन् । एमालेमा विद्याको पुनरागमन आफूमाथिको चुनौती ठानेर यसअघि रोकेका ओलीले अहिले भने विद्यालाई अघि सारेर आफू सुरक्षित हुन खोजेको देखिन्छ ।

ओली–प्रचण्ड एकता ?

अहिले एमालेमा अनेकौं प्रयत्न गरेर ओलीले तत्कालका लागि आफूमाथिको संकट टारे पनि फेरि असहज अवस्था आउन सक्ने भयले अर्को वाम दल प्रचण्ड नेतृत्वको नेकपासँग सहकार्य हुँदै एकतासम्मको तयारीमा गरेर थप सुरक्षित हुने दाउमा लागेका छन् । ओलीले नेकपाका संयोजक प्रचण्डसँग अहिले प्रदेशमा सत्ता सहकार्य गरेर आगामी स्थानीय निर्वाचनसम्म चुनावी सहकार्य हुँदै पार्टी एकताका लागि हात अघि बढाइसकेका छन् ।

नेपाली समाजमा एउटा आहान निकै प्रख्यात छ– ‘हात्ती मिले पनि विध्वंश, जुधे पनि विध्वंश ।’ अहिले ओली प्रचण्डको मिलाप र विभाजन दुवैले दुई वामपन्थी दलका नेता कार्यकर्ता सधैं मारमा पर्दै सिंगो वाम आन्दोलनले नै निकै ठूलो मूल्य चुकाउनुपर्ने स्थिति आएको छ । जेनजी आन्दोलन र गत फागुन २१ को निर्वाचनपछि पुस्तान्तरण भएर ३६ वर्षे युवा बालेन्द्र साहले मुलुकको बागडोर सम्हाल्ने अवस्था आए पनि यी नेताद्धय भने अझै आफ्नो नेतृत्व जोगाउन अझै अनेकौं तिकडम गरिरहेका छन् ।

यसअघि २०७४ सालमा भएको एमाले माओवादी दुई पार्टीबीचको एकताले आम नेता कार्यकर्तासहित जनमानस उत्साहित भएर दुई तिहाई जनमत दिएका थिए । त्यस्तो स्वर्णिम अवसरको सदुपयोग गरेर देश र जनताको पक्षमा काम गर्नुपर्ने बेलामा ओलीले आफ्नो कुर्सी जोगाउन दुईतिहाइ बहुमतमाथि कुठाराघात गरे, मतदातालाई धोका दिए । त्यति मात्र होइन, दुईदुई पटक संसद विघटन गर्दै जनमतको उपहास गर्न पुगे । त्यसकै उपज मुलुकले ७४ सालयता व्याप्त भ्रष्टाचार, चरम राजनीतिक अस्थिरताले जेनजी विद्रोहको अवस्था निम्तिएको अकल्पनीय विध्वंश मुलुकले व्यहोर्नुपर्यो । त्यसकै बलमा भएको गत फागुन २१ को निर्वाचनबाट मुलुकको वाम आन्दोलनले निकै ठूलो जनमत गुमाएर रक्षात्मक अवस्थामा पुगेको छ ।

त्यसअघि तत्कालीन नेकपा माओवादी केन्द्रसँगको सत्ता गठबन्धन तोडेर ओलीले कांग्रेससँग सत्तासहकार्य गरेको दुष्परिणामस्वरुप मुलुकले जेनजी विद्रोह व्यहोरेर प्रधानमन्त्री ओली हेलिकप्टरबाट भागेर ज्यान जोगाउनुपरेको थियो । त्यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री रहेको बेला बालुवाटारमा ‘स्वर्ग र नर्क’ सँगै जाने सपना देखाएर कांग्रेससँग आफू प्रधानमन्त्री बन्ने अघोषित सहमति गरेका थिए । तिनै ओलीले अहिले फेरि आफूमाथिको संकट टार्न वाम एकताको नाममा प्रचण्ड नेतृत्वको नेकपासँग सहकार्य हुँदै एकताको प्रयत्न गर्नु अर्को धोकाधडीको बिजारोपण बाहेक अरु केही होइन ।

यसअघिको धोकाधडी र विश्वासघातको गम्भीर आत्मालोचनासहित नदोहोर्याउने प्रतिबद्धता बिना ओलीको भर पर्नु प्रचण्डका लगि फेरि ‘आफ्नै खुट्टामा बञ्चरो हान्ने’ काम हो । विगतको विभाजनको गम्भीर आत्मसमीक्षा र आत्मालोचना बिनाको एकताले अब फेरि दुबै पार्टी र जनतामा विश्वासको वातावरण बनाउन सक्दैन । राष्ट्रिय आवश्यकता र वाम आन्दोलनलाई केन्द्रमा राखेर नभई सीमित नेतृत्वको पद जोगाउने एकता अब आम नेता कार्यकर्ता र जनताबाट अस्वीकृत हुनेवाला छ ।

विगतका घटनाक्रमका आधारमा एमाले अध्यक्ष ओली र प्रचण्ड फरक पात्र भए पनि केही प्रवृत्तिगत समानता पनि छ । विगतदेखि दुबैले आफ्नो पार्टीमा अनेकौं कुटिल प्रयत्न गरेर निरन्तर आफ्नो नेतृत्व सुरक्षित गर्दै आएका छन् । एमालेमा नवौं महाधिवेशनबाट नेतृत्वमा आएका ओलीले त्यसयता आफ्ना विरोधीलाई किनाराकृत गर्दै तेस्रो कार्यकाल नेतृत्वमा दोहोरिसकेका छन् ।

गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट सत्ताच्यूत भएका ओली त्यसयता आन्तरिक एवं बाह्यरुपमा निकै संकटमा छन् । उनकै हठ र स्वेच्छाचारिताले मुलुकले जेनजी विद्रोह खेपेर निकै ठूलो धन जनको क्षति व्यहोर्न पुगेको छ । जेनजी विद्रोहमा दमन गरेको आरोप खेपिरहेका ओलीलाई त्यसको छानबिन आयोगको प्रतिवेदनले कारबाहीका लागि सिफारिस समेत गरेको छ । यद्यपि, बालेन सरकारले कारबाहीका लागि गिरफ्तारी गरे पनि अदालतले रिहा गर्न बाध्य पारेको थियो ।

अहिले पार्टीभित्रै उनको विकल्प खोज्दै निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठनका लागि गठित कार्यदलले देशभरका नेता कार्यकर्ताको सुझाब संकलनका क्रममा अधिकांशले ओलीलाई सम्मानजनक बहिर्गमनको सुझाब दिँदा पनि ओलीले त्यसलाई अवज्ञा गरेर नेतृत्वमोह कायमै राखेका छन् ।

देशभरका बहुसंख्यक नेता कार्यकर्ताको मनोभावना विपरीत सोही प्रतिवेदनको मर्मलाई लत्याएर ओली अनेकौं जालझेल गर्दै तत्कालका लागि आफूमाथिको संकट केही समय टारे पनि विशेष महाधिवेशनको सम्भावना जीवितै रहेको ओलीको विकल्प खोजेका नेताहरुको जिकिर छ ।

पार्टीका बहुसंख्यक नेता कार्यकर्ताले ओलीलाई नरुचाउँदा पनि तत्कालका लागि आफ्नो विकल्प खोज्ने स्थितिको अन्त्य गरे पनि उनीप्रतिको असन्तुष्टि अझै एमालेको आम नेतादेखि कार्यकर्ता तहमै रहेको छ ।

अर्को, वाम पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हविगत पनि उस्तै छ । विगत चार दशकदेखि पार्टीको नेतृत्वमा अभिछिन्न रुपमा रहेका प्रचण्ड पार्टी कमजोर बन्दै जाँदा आफू भने बलशाली भएको भ्रममा छन् । एकपछि अर्को सहकर्मीले छोड्दै गएपछि कुनै समय सर्वाधिक शक्तिशाली पार्टी अहिले चौथो दलमा सीमित भएको छ । तैपनि उनी अझै नेतृत्व छाड्न तयार छैनन् ।

अनेकौं बखेडा गरेरै नेतृत्वमा टिकिरहने ध्याउन्नमा प्रचण्ड लागेका छन् । मुलुकको वाम आन्दोलन बलियो बनाउने भन्दा पनि आफू निर्विकल्प नेतृत्वमा टाँसिरहने आत्मकेन्द्रित व्यक्तिवादी सोच र चिन्तनको मनोरोगले आजपर्यन्त प्रचण्ड ग्रस्त छन् ।

यिनै दुई ठूला वाम पार्टीका नेतृत्वकै कारण मुलुकको वाम आन्दोलनमा नयाँ पुस्ताको आकर्षण नहुने निश्चित जस्तै भएको छ भने दुबै पार्टीका नेता कार्यकर्तामा समेत असन्तुष्टि बढ्दै गएको छ । यसले मुलुककै सिंगो वाम आन्दोलनले थप विषम परिस्थिति व्यहोर्नुपर्ने अवस्था सिर्जना हुँदै गइरहेको छ । विगतमा यिनै नेताद्वयको एकअर्का लक्षित गम्भीर आरोप प्रत्यारोप र धोकाधडीकै उपज मुलुक र वाम आन्दोलनले आजको दुरावस्था भोग्नुपरेको हो । त्यसको गम्भीर समीक्षा नगरी फेरि विशुद्ध आफ्नो संकट टार्न गरिने एकताले नेतृत्वमाथिको क्षणिक संकट निवारण त होला तर त्यसले समग्र वाम आन्दोलनलाई भने दीर्घकालीन हित भन्दा पनि झनै प्रत्युत्पादक हुनेवाला छ ।

विगतको एकता असफल हुनुको कारण पहिचान गर्दै त्यसको गम्भीर समीक्षा नगरी अब गरिने एकता केबल दुई नेतामाथि निम्तिएको संकट टार्ने कुचेष्टा मात्रै हो । अझै प्रचण्ड नेतृत्वको नेकपामा समाहित भएका पूर्व एमाले नेता माधव नेपाललाई एमालेसँगको एकता र विभाजनको औचित्य पुष्टि गर्न निकै कठिन पर्नेवाला छ । विगतमा ओलीको संसद विघटन विरुद्ध विद्रोह गरेका नेपाललाई ओलीको आत्मालोचना बेगर एउटै पार्टीमा समाहित भए त्यसले विगतको विभाजनलाई औचित्यहीन र निरर्थक सावित गर्ने छ ।

ओलीले विगतको संसद विघटन र पछिल्लो जेनजी आन्दोलन माथिको दमनको अझै नैतिक जिम्मेवारी लिएका छैनन् । अहिलेसम्म पनि ओलीमा त्यसप्रति कुनै प्रायश्चित समेत नगरी पुरानै दम्भ र अहंकार कायमै रहेको छ ।

अर्का नेकपाका संयोजक प्रचण्डले पनि आफ्नै नेतृत्वकालमा पार्टी दिनानुदिन कमजोर बन्दै गए पनि त्यसको आत्मसीक्षा गर्ने आवश्यकता अझै बोध गरेका छैनन् । बरु उल्टै अनेकौं आवरणमा आफ्नो नेतृत्व सुरक्षित गर्न उद्यत देखिन्छन् । एमालेसँगको एकताको अस्त्र पनि त्यसकै उपज हो । ओली प्रचण्ड दुबै नेपाली राजनीतिका पटक पटक परिक्षित र अस्वीकृत पात्र भएकाले यी दुबैको नेतृत्वमा अब वाम आन्दोलन कदापि अघि बढ्न सक्दैन । ओली–प्रचण्डको आजीवन नेतृत्वमोहको भारी बोकेर सिंगो वाम आन्दोलनले थप क्षति व्यहोर्नबाट जोगाउन दुबै पार्टीका सचेत नेता कार्यकर्ताले उचित कदम चाल्न जरुरी छ । अन्यथा, ओली प्रचण्डको एकता अन्तिम भोजमा परिणत भएर मुलुकको सिंगो वाम आन्दोलनले नै झनै दुर्दशापूर्ण अवस्था व्यहोर्नुपर्ने दिन नआउला भन्न सकिँदैन ।

प्रतिक्रिया दिनुहोस्