काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन आयोगबाट हटाइएका नवराज सुवेदीले निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

उनले आफूमाथि अन्याय भएको भन्दै आज आयोगको कार्याालयमा उजुरी दिएका हुन् । केहि दिनअघि मात्रै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सुवेदीलाई अनुशासन आयोगको अध्यक्षबाट हटाएका थिए । आयोगमा उजुरी दिएपछि सञ्चारकर्मीसँग बोल्दै सुवेदीले आफुलाई सोध्दैनसोधी अनुशाासन आयोगको जिम्मेवारीबाट हटाइएको भन्दै चित्त दुखाए ।
‘प्राकृतिक न्यायको सिद्धान्त अनुसार पनि निर्णय लिनु अगाडि मलाई सोध्नुपथ्र्यो । मलाई सोधिएको छैन,’ उनले भने, ‘चिठी लेखेर दिएको पनि छैन । मैले मिडियाबाट थाहा पाएँ, मलाई निकाल्नुभयो र अर्को मान्छे राख्नुभयो रे भनेर ।’
आफूलाई कारबाही गर्दा केन्द्रीय समितिबाट निर्णय नगरी अध्यक्षले स्वेच्छाचारिता प्रदर्शन गरेको सुबेदीले बताए ।
‘तपाईँले त आफैँ राप्रपा त्यागे भनेर सार्वजनिक रूपमा घोषणा गर्नुभएको होइन र ? भन्ने पत्रकारकाे प्रश्नमा सुवेदीले भने, ‘त्यो भाषणको अगाडि र पछाडि हेर्नुपर्छ । मैले भनेको थिएँ, संवैधानिक राजसंस्था, बहुदलीय प्रजातन्त्र र हिन्दू राष्ट्रको निम्ति जुनसुकै सेक्रेफाइस गर्न पनि तयार छु, पार्टीबाट राजीनामा दिनुप¥यो, छोड्नुप¥यो भने पनि तयार छु, तर यो पद म छोड्दिन भनेको थिएँ । तर अगाडि, पछाडिको सबै हटाइयो । जे सुविधा लाग्छ त्यही काटेर त्यो पोर्सन मात्रै हाल्नुभयो । ममाथि पार्टीमा अन्याय भएको छ । त्यसको खिलाफमा आवाज उठाएको हो ।’
उनलाई साथ दिन महामन्त्री धवलशमशेर जबरा, बरिष्ठ नेता प्रकाशचन्द लोहनीसहित राप्रपाका दर्जनौं नेता निर्वाचन आयोग पुगेका थिए ।














