काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार उद्घोष गर्ने गरेका छन्- ‘म भ्रष्टाचार गर्दिनँ,र अरूलाई पनि गर्न दिन्नँ, भ्रष्टाचारीको मुखै हेर्दिनँ ।’ तर, प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्नै नदिने भनेपनि भ्रष्टाचार उनकै क्याबिनेटका सदस्यहरूले गरेको आरोप छ्यापाछ्यापती बनेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सेटिङ मिलाउनका लागि मन्त्रालयमा गरेको बार्गेनिङको अडियो सार्वजनिक भएपछि यो विषयमा चर्चा र चासो बढेको छ ।

अहिले मन्त्री गुप्ताले आफूले कुनै गल्ती नगरेको भनिरहेपनि त्यो अडियोको परीक्षण र उनले मन्त्री पदबाट बाहिरिने सामान्य राजनीतिक नैतिकता भने देखाएका छैनन् । मन्त्री गुप्ताले २५ लाख घुस डिल गरेको अडियो सार्वजनिक भएपनि यसको स्वतन्त्र पुष्टि भने भएको छैन ।
तर, घुस डिलसम्बन्धि उक्त अडियोमा भूमि व्यवस्थामन्त्री बलराम अधिकारको नाम समेत मुछिएको छ । कास्कीमा भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्तिका लागि भएको भनिएको घुस डिलमा एक पुरुष, एक महिला र मन्त्री गुप्ताले कुराकानी लामो समयसम्म गरेको सुनिन्छ ।
यसरी चलिरहेको घुस डिलको अडियोमा प्रहरी वा अख्तियारले सक्रियता देखाएर अनुसन्धान भने गर्ने आँट गरेको देखिन्न । मन्त्री गुप्ता एमालेका नेता पनि हुन् ।
माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले कर्मचारी सरुवामा मन्त्रीबाटै घुस डिल भइरहेको भनेर आएका समाचारको विषयमा सरकारको जवाफ मागेको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले यस विषयमा प्रधानमन्त्रीको जवाफ मागेकी हुन् ।
‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यू र भूमि व्यवस्थामन्त्रीले कर्मचारी सरुवामा ७८ लाख डिल गरेको भन्ने समाचारहरू बाहिर आइरहेका छन् । यो विषयमा के भएको हो ?,’ पूर्वमन्त्री समेत रहेकी शर्माले भनिन्, ‘सम्मानीय प्रधानमन्त्रीज्यूलाई संसद्मा जानकारी गराउन अनुरोध गर्न चाहान्छु सभामुख मार्फत् ।’
यसको छानबिन गरेर दोषी जोसुकै होस् उसमाथि कडाभन्दा कडा कारबाही गरियोस् भनेर माग पनि उनले गरिन् । ‘अन्यथा सरकारको एक वर्षको उपलब्धि यही हुनेछ भन्ने कुरा पनि राख्न चाहान्छु,’ शर्माले भनिन् ।
त्यस्तै माओवादी केन्द्रका अर्की सांसद दुर्गा राईले मन्त्री अधिकारीको घुस डिल अडियोबारे प्रधानमन्त्रीको जवाफ मागिन् । राईले सामान्य प्रशासन मन्त्रीको बारेमा त पालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवाको विषय लगायतमा पनि घुसको डिलबारे धेरै समाचार आउने गरेका बताइन् । उनले यस्ता घुसका डिल भएका अडियो सार्वजनिक भइरहँदा चुप लागेर बस्ने हो त भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरिन् ।
‘मन्त्रीजीहरूका घुसका डिल बाहिरिएपछि सरकारले एक्सन लिन पर्छ कि पर्दैन ? सरकारका मन्त्रीहरूले नैतिकता देखाउने कुरा त टाढाको कुरा बन्दै छ,’ सांसद राईले भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले म घूस पनि लिँदिन अरूलाई घूस लिन पनि दिन्न भन्ने टुक्काले पुग्छ कि पुग्दैन ।’
रास्वपाको प्रश्न
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा)की सांसद सुमना श्रेष्ठले मन्त्री गुप्ताको अडियोबारे समेत निष्पक्ष छानबिन गर्न माग गरिन् । आइतबार प्रतिनिधि सभा बैठकमा उनले सरकार भूमि विधेयक फास्ट ट्रयाकबाट किन पास गर्न खोज्दै छ भन्ने विषय पनि अडिओ सार्वजनिक भएपछि खुलेको बताइन् ।
‘कास्कीको मालपोत कार्यालयमा को पठाउने भन्नेबारे र जिल्लाको भूमि आयोगको अध्यक्षमा सेटिङ ? किन भूमि विधेयक फास्ट ट्रयाकबाट पास गर्न खोजिएको भन्ने बुझ्यौं । आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन !,’ उनले भनिन् । सार्वजनिक भएको अडिओमा पनि एउटा मन्त्री (सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता) ले अर्को मन्त्री (भूमि मन्त्री बलराम अधिकारी) लाई पोलेकोले यसमा पनि छानबिन गर्न सांसद श्रेष्ठले माग गरेकी छन् । ‘अडिओमा भनिएको बा को हुन् ? दुई तिहाइ भनेको मिलिजुली भाग खान हो ? कसको प्रश्रय ? कस्तो तागत ? कस्तो संस्कार ? के फरक भयो यी सबै वर्ष ? जनताले के पाए ? संसदीय समिति त चाहिन्छ चाहिन्छ,’ उनले भनिन् ।
अरुमन्त्री माथि पनि प्रश्न
ओली सरकारका अन्य मन्त्रीमाथि समेत प्रश्न उठिरहेको छ । खेलकुदमन्त्री तेजुलाल चौधरीमाथि समेत नेपाल प्रिमियस लिग विवादमा मुछ्न थालिएको छ । मन्त्री चौधरीले अनाधिकृत पत्र तयार पारेको आरोप लागिरहेको छ । उसोतः गृहमन्त्री रमेश लेखकमाथि पनि भिजिट भिसा सेटिङ गरेको आरोपमा संसद नै अवरुद्ध बनिरहेको छ । यस्तो स्थितिमा प्रधानमन्त्री ओलीले भनिरहेको सुशासन र भ्रष्टाचारविरोधि कुराहरु फिक्का हुन थालेको चर्चा हुन थालेको छ ।
प्रधानमन्त्रीमाथि नै गम्भीर प्रश्न
प्रधानमन्त्री केपी ओलीमाथि समेत भिजिट भिसा दुरुपयोगको आरोप लगाउन थालिएको छ । ओली सहभागी भएको संयुक्त राष्ट्र संघको कार्यक्रममा स्पेन गएकाहरु नफर्किएको भन्दै चर्चा चलिरहेको छ । तर, भिजिट भिसामा जानेहरु विचौलियालाई मोटो रकम बुझाएर गएको भनिएको छ ।
यस विषयमा पनि रास्वाले विषयमा प्रधानमन्त्रीसँग जवाफ माग गरको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुमनाले स्पेन प्रकरणले मानव तस्करीको सञ्जाल राजनीतिक संरक्षण दिइएको आरोप लगाइन् । उनले २०७८ साल फागुनमा बनेको भिजिट भिसा सम्बन्धी अध्ययन प्रतिवेदन अझै सार्वजनिक नगरिएकोप्रति पनि आपत्ति जनाइन् । उनले २०७८ मा बनेको प्रतिवेदन अहिले गृह मन्त्रालयको कुन कुनामा थन्किएको छ ? भन्दै प्रश्न गरिन् ।
उनले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन आयोग गठनको माग पनि गरिन् । उनले सुशासन आयोगका अध्यक्ष समेत रहेएका प्रधानमन्त्री ओलीले स्पेन प्रकरणबारे स्पष्टीकरण दिनुपर्ने माग दोहो¥याइन् ।
राप्रपाको दाबी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले भिजिट भिसाबाट प्रधानमन्त्री सहभागी भएको कार्यक्रममा स्पेन गएकाहरू नफर्किएको पुष्टि भइसकेको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै भिजिट भिसा प्रकरणको छानबिन गर्नको लागि संसदीय छानबिन समिति बनाउन माग गरे ।
उनले भने, ‘प्रधानमन्त्रीसँग नगएको भए पनि उहाँ गएको कार्यक्रममा गएकाहरू नफर्केको पुष्टि भइसकेको छ । यसको छानबिन गरौं, संसदीय छानबिन समिति बनाउन यो सरकार किन डराएको ? संसदीय छानबिन समितिको माग हाम्रो अडान छ ।’ भिजिट भिसा प्रकरणको छानबिन गर्नको गर्न समिति नबनेसम्म आन्दोलन नछाड्ने बताए । भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रूपमा आर्थिक लेनदेन हुने गरेको र यस सम्बन्धमा विगतदेखि नै संसद्मा कुरा उठ्दै आएको तर, गम्भीर नभएको उनको आरोप छ ।
यस्तै आज बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पनि यसमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरे । उनले किन संसदीय छानबिन समिति गठन गर्न सरकार डराएको ? भन्दै प्रश्न समेत गरेका छन् । उनले भने, ‘भर्खरै प्रधानमन्त्रीसँग भ्रमणमा गएका, उनीसँग नगए पनि उहाँको कार्यक्रममा जाने भनेर गएकाहरू मान्छेहरू फर्किएका छैनन् भन्ने पुष्टि भइसक्यो, यसको छानबिन गरौँ, संसदीय छानबिन बनाउन यो सरकार किन डराएको हो ?, छानबिन समितिको हामी माग गर्छाैं ।’
प्रधानमन्त्रीको प्रतिक्रिया
प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्न केही विरोधी र अराजक तत्त्वले झुटा प्रचार गरेको बताएका छन् ।
झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटनको क्रममा बोल्दै उनले अरु कुरा नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झूट र घटिया प्रचार गरेको बताएका हुन् । साथै उनले यस्ता कुराहरूको जवाफ दिन आवश्यक नभएको बताए ।
‘म स्पेन गएको थिएँ । त्यहाँ हाम्रो भूमिका असाध्यै राम्रो भयो त्यो भूमिका सहन नसकेर अपोजिसन पार्टी र केही अराजकतावादी पार्टीहरूले मान्छे छाडेर आयो भन्ने जस्ता वाहियात कुरा गरे’, उनले भने ।
योजनाबद्ध ढंगले घटिया प्रचार गरेकव भन्दै ओलीले भने, ‘त्यो हुन सक्ने कुरा हो ? प्रमाणित गर्न सकिने कुरा हो ? प्रमाण भनेर कराएका छन् । जहिले पनि झूट बोलेको छ, झुट बालेको छ । यस्ता कुरा कति दिन टिक्छ ? यस्तो राजनीति नगर्न म सबैलाई सुझाव दिन चाहन्छु ।’











