काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सत्तामा रहेका मन्त्रीहरू नै भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले घण्टि बजाउँदै आएकाहरूको व्यवहार पनि फरक नरहेको टिप्पणी गरे ।

‘पुराना पार्टीहरूले देश बिगारे, घुस खाए भनेर घण्टी बजाउँदै आएकाहरूको हालत पनि त हामीले देखिरहेका छौं,’ केसीले भने, ‘अब त हस्ताक्षर अभियान पो चलिरहेको छ देशभरी ।’ उनले सत्ता र सरकारमै रहेकाहरूको देश लुट्ने र घुस खाने प्रवृत्तिले लोकतन्त्र र गणतन्त्र विरोधीलाई मलजल मिलिरहेको बताए ।
‘स्वयं सत्तामा, सरकारमा बसेक मन्त्रीहरू भ्रष्टाचार गर्न, देश लुट्न, घुस खान लाजै नमान्ने भएपछि नेपाली जनतालाई गणतन्त्र र लोकतन्त्र आवश्यक छैन भनेर व्यापक रूपमा प्रचार गर्ने तत्त्वहरूलाई मलजल भएको छ कि छैन ?,’ केसीले भने, ‘अहिले पनि सत्ता र शक्तिमा बस्नेहरूको काम राष्ट्र र जनताको काम होइन कि विशुद्ध घुस खाने, भ्रष्टाचार गर्ने भयो त्यही बाहानामा कति दिनदेखि संसद्मा होहल्ला भइरहेको छ ।’











