Logo
Logo

घुस ‘डिल’ प्रकरणमा मुछिएका मन्त्रीले दिए राजीनामा


1k
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएपछि उनले आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामापत्र बुझाएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराएका छन् ।

‘विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई बिदितै छ । कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजिनामा गरेको छु ,’ उनले भनेका छन् ।

साथै उनले आफू प्रविधिको शिकार भएको समेत जिकिर गरेका छन् । ‘प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरु कोही पनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्ममा बिभिन्न रुपले आफूलाई सहयोग गर्नुहुनेहरुलाइ हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ उनले लेखेका छन्, ‘अब फेरि एकपटक देश र जनताप्रति थप जिम्मेवारीवोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निस्ठाको साथ पुरा गर्ने प्रतिबद्धताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।’

केही दिनअघि मात्र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबीच लाखौंको घुस डिलको अडिओ सार्वजनिक भएको थियो ।

घुस खाएको अडिओ सार्वजनिक भएपछि प्रधानमन्त्रीले हिजो बालुवाटार बोलाएर मन्त्री गुप्तालाई राजीनामा दिन निर्देशन दिएका थिए । उक्त अडिओको वास्तविकता अनुसन्धानका लागि फरेन्सिक ल्यावमा परीक्षणका लागि पठाइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्