काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे महिनामा भारत र पाकिस्तानबीच भएको द्वन्द्वमा पाँच लडाकु विमान खसालिएको दाबी गरेका छन् । शुक्रवार राति ह्वाइट हाउसमा रिपब्लिकन सांसदहरूसँगको रात्रिभोजको क्रममा उनले सो दाबी गर्दै ती कुन देशका लडाकु विमान हुन भन्ने खोलेनन् ।

यसअघि पाकिस्तानले पनि भारतका पाँच लडाकु विमान खसालेको दाबी गरेको थियो। यद्यपि, भारतले त्यो दाबीलाई अस्वीकार गर्दै आएको छ ।
मे महिनामा भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्वको समयमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेका थिए। अमेरिकाले यो वार्तालापलाई युद्धविरामको रूपमा प्रस्तुत गरेको थियो । ट्रम्पले सामाजिक सञ्जालमा युद्धविरामको घोषणा गरेका थिए ।
ट्रम्पले अमेरिकाले धेरै युद्ध रोकेको र ती सबै गम्भीर युद्ध भएको बताए । उनले भने, ‘भारत र पाकिस्तानबीच पनि त्यस्तै भइरहेको थियो। त्यहाँ विमानहरू खसालिएका थिए। मलाई लाग्छ वास्तवमा पाँचवटा जेट खसालिएका थिए। दुवै आणविक हतियार सम्पन्न देश हुन् र एकअर्कामाथि आक्रमण गरिरहेका थिए ।’
उनले भने, ‘यो युद्धको नयाँ तरिका जस्तो देखिन्छ। हामीले हालसालै इरानलाई के गर्यौँ भनेर तपाईंले देख्नुभयो। हामीले उनीहरूको आणविक क्षमतालाई पूर्ण रूपमा नष्ट गर्यौँ ।’










