काठमाडौं । नेपाली कांग्रेसका ‘सात भाइ’ले संविधान संशोधनको प्रक्रिया नेपाली कांग्रेस र नेकपा एमालेबिच सरकार गठनका बेला भएको सहमतिअनुरूप अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेका छन् । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको छलफलमा कांग्रेसका सात पूर्व पदाधिकारीले दुई दलबिचको सात बुँदे सहमतिअनुरूप संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेका हुन् ।

बैठकमा पूर्व उपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ तथा पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, सिंह र डा.शशांक कोइराला तथा पूर्वसहमहामन्त्री तथा वर्तमान कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत सहभागी थिए ।
बैठकपछि पूर्वमहामन्त्री सिटौलाले बैठकले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको जानकारी दिए । उनले भने, ‘कांग्रेस एमालेबिचको सात बुँदे सहमतिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भनिएको थियो । त्यो सुरु हुन सकेको छैन । अब संशोधनको प्रक्रिया सुरु गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष हो ।’
त्यस्तै बैठकले गठबन्धन सरकारले जनताको हितमा काम गर्न नसकेको निष्कर्ष पनि निकालेको छ । उनीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने गरी विभिन्न स्थानमा बहस गर्ने निष्कर्ष पनि निकालेका छन् । गठबन्धनको भावनाअनुरूप सरकारले काम गर्नुपर्ने र यही गठबन्धनलाई २०८४ को निर्वाचनसम्म निरन्तरता दिनुपर्ने पनि उनीहरूको निष्कर्ष छ ।














