काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्या भण्डारीको विषयमा कठोर देखिएका छन् ।
सोमबारदेखि ललितपुरको च्यासलमा सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भण्डारीको पक्षमा उभिने नेताहरूमाथि कडा कारबाहीको चेतावनी दिएका छन् ।

बैठकमा सम्बोधन गर्दै ओलीले केही नेताहरू पूर्वराष्ट्रपतिको प्रवक्ताजस्तै प्रस्तुत भइरहेको भन्दै तीव्र असन्तुष्टि जनाए । ‘कोही नेताहरू उहाँ (विद्या भण्डारी)को प्रवक्ता बनेर हिँडिरहनुभएको छ। किन त्यसरी प्रवक्ता बन्नु पर्यो ?’ ओलीले स्पष्ट रूपमा असन्तोष पोखे ।
एक केन्द्रीय सदस्यका अनुसार, ओलीले पूर्वराष्ट्रपति भण्डारीको पक्षमा लाग्नेहरूलाई पार्टी अनुशासनविपरीतको कार्यको रूपमा व्याख्या गर्दै कारबाहीको चेतावनी दिएका थिए ।
ओलीले आइतबार च्यासलमै पूर्वराष्ट्रपति भण्डारीसँग करिब दुई घण्टा संवाद भएको जानकारी पनि बैठकमा दिएका थिए। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएको भए पनि भण्डारीले पार्टी कार्यालयमै आउन इच्छा जनाएपछि च्यासलमै भेटघाट भएको उनले स्पष्ट पारे।
भेटका क्रममा आफूले केही राजनीतिक सुझावहरू दिएको तर भण्डारीबाट जवाफ नआएको उनले बताए ।
पूर्वराष्ट्रपतिसँगको भेटपछि प्रतिक्रिया दिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र स्थायी कमिटी सदस्य कर्णबहादुर थापातर्फ लक्षित गर्दै ओलीले उनीहरुलाई ‘प्रवक्ता’ बन्ने प्रयासमा रहेको आरोप लगाए ।
बैठकमा आक्रोशित देखिएका ओलीले वर्तमान प्रयासलाई भूतपूर्व संघर्षभन्दा गम्भीर हमला भन्दै पार्टीमा ‘ओलीमुक्त’ अभियान चलाउने प्रयास भैरहेको आरोप पनि लगाए ।
उनले भने, ‘एमालेलाई ओलीमुक्त बनाउने योजना चलिरहेको छ, तर त्यो सफल हुदैन। प्रचण्ड र माधव नेपालको समयको भन्दा अझ ठूलो प्रहार भइरहेको छ, तर हामी एकताबद्ध भएर त्यसको जवाफ दिनेछौँ ।’
पूर्वराष्ट्रपति राजनीतिमा फर्कने सम्भावनाले गणतान्त्रिक मूल्य र राष्ट्रपति संस्थाको गरिमा नै खतरामा पर्न सक्ने चेतावनी पनि ओलीले दिए। उनले भण्डारीको राजनीतिक सक्रियता अस्वीकार्य भएको प्रस्ट पार्दै पार्टीभित्र यसको समर्थन गर्नेहरूप्रति प्रारम्भमै कठोर सन्देश दिन खोजेको जनाइएको छ।
त्यसैगरी, उमेरहदसम्बन्धी चर्चा झुटा अफवाहको आधारमा गरिएको भन्दै ओलीले आपत्ति जनाए । उनले भने, ‘मैले जेल बस्दा बितेको समयलाई पनि उमेर गणनामा गन्नुपर्छ भनेको भनेर हल्ला गरिएको छ ।’
ओलीले पार्टीभित्र विद्या भण्डारीको पक्षमा धारणा राख्ने नेतालाई अनुशासनहीन व्यवहारको संज्ञा दिँदै यस्ता कार्यहरू दोहोरिए कारबाही हुनेछ भन्ने चेतावनी दोहोर्याएका छन् ।














