काठमाडौं । जतिबेला आपतविपद पर्छ त्यतिबेला नै सीमा क्षेत्र खुला गरिन्छ । यो अहिले मात्रै होइन, हरेक दसैं तथा वर्ष यस्तै हुने गरेको छ । केन्द्रमा आइजीपीले तस्करीलाई सहयोग गरिस् भने तुरुन्तै तानिदिन्छु भन्ने अभिव्यक्तिलाई जिल्लामा रहेको एसपी वा मातहतका कमाण्डरले आफू पशुपतिमा बस्न भनेर नआएको भन्दै राती राती भन्सार छलीलाई प्राथमिकता दिन असार साउनमा नै यस्तो अवस्था आएपछि दशै तिहारजस्ता चाडवाड नजिकिन थालेपछि के होला भनेर प्रश्न गर्न थालिएको छ । अहिले कपिलवस्तु जिल्लाका सीमा नाकामा तस्करी मौलाएको छ ।

सीमा क्षेत्रको सुरक्षा र तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीकै मिलेमतोमा जिल्लामा तस्करी बढेको हो । सीमा क्षेत्रमा रहेका बीओपीहरूले सशस्त्र प्रहरीका उपरीक्षक नेत्र केसीको मौन स्वीकृतिमा अवैध रकम संकलन गरिरहेका छन् ।
सीमा नाकाबाट दिउँसै लाखौं रूपैयाँका सामानहरु अवैधरूपमा भित्रिने गरेको छ । तर सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरू मौन छन् । तस्करहरूले बीओपीमार्फत् सशस्त्र प्रहरी उपरीक्षकसम्म रकम खुवाएका कारण सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरू मौन बस्ने गरेको स्रोतको दावी छ ।
सीमा नाकाबाट कपडा, खाद्यान्न, मेशिनरी पाट्र्स, खसी–बोका, चप्पललगायतका सामाग्रीहरू तस्करी हुने गरेको छ । तर यहाँ खटिएका सशस्त्र प्रहरीहरू कमाउ धन्दामा लागेकाले वेवास्था गरेको एक स्थानीयले बताए । जिल्लाको कृष्णनगर पश्चिमका सीमा नाका, कृष्णनगर आसपास, कुशहवा बढनी, मर्यादपुर, रंगपुर, चाकरचौडा लगायतका सीमा नाकामा तस्करीका घटना बढेका छन् ।
आम सर्वसाधारणले घरायसी प्रयोजनका लागि भारतीय बजारबाट सामान ल्याउँदा निकै कडाइ गर्ने सशस्त्र प्रहरीहरू ठूलो संख्यामा भन्सार छली हुँदा मौन बस्ने गरका छन् । सादा पोसाकमा खटिने सशस्त्र प्रहरीहरूले मासिकरूपमा अवैध रकम संकलन गरेर सशस्त्र प्रहरीका जिल्ला प्रमुखसम्म पु¥याउने गरेको स्रोतको दाबी छ ।
बीओपीमा रकम नबुझाउने हो भने आफ्नो सामान तत्काल बारामद भइ जफत हुने गरेको एक कारोबारीको दाबी छ । कपिलवस्तुको मायादेवी गाउँपालिका चाकडचौडामा छोटी भन्सार कार्यालयसँगै सशस्त्र प्रहरी सीमा सुरक्षा चेक पोस्ट (बीओपी) पनि छ । सशस्त्र प्रहरीको काम सीमा क्षेत्र सुरक्षाका साथै तस्करी रोक्नु पनि हो । तर, ठाउँ–ठाउँमा बीओपीहरू भएपनि तस्करी रोक्ने कार्य गरेको भने पाइँदैन ।
तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी र भन्सार कर्मचारी संयुक्त टोली बनाएर बस्ने गर्छन् । तस्करले सामान ओसार पसार गरिरहेका हुन्छन्, तर सुरक्षाकर्मी र भन्सारका कर्मचारीहरू त्यो सबै नदेखेझैं गरी कोल्टे परेर बसेका हुन्छन । अनि तस्करहरूले खुलेआम तस्करी गर्छन् । भारतीय सीमाबाट करिब ५०० मिटर दूरीमा चामलका गोदामहरू छन् । ती गोदाम सञ्चालकले प्रहरी र भन्सारका कर्मचारी अगाडिबाटै क्यारियर गराएर सामान ल्याउँछन् ।
गोदाम बाहिर काँटा राखेर तौल गर्दै बोरा प्याकिङ गरिरहेको दृश्य हरेक दिन देखिन्छ । यसरी चौबीसै घण्टा खुलेआम तस्करी भइरहँदा प्रहरी प्रशासनले सोधपुछसमेत गर्ने गरेको छैन। मिलेमतोमा भएको तस्करीका कारण तस्करहरूले ढुक्क भएर सामान ओसारपसार गरिरहेको स्थानीय बताउँछन् ।
तस्करले बाहिर चामल मिल, चामल उद्योग जस्ता साइनबोर्ड लगाएका छन । तर त्यहाँ न चामल उद्योग छ, न त कुटानीपिसानी गर्ने मेसिन नै ! बाहिर बोर्ड झुण्ड्याउँदै सडक छेउमा डिजिटल काँटा राखेर भारतबाट आयातित चामल तौल गर्ने र नेपालको ब्राण्ड प्रिन्ट गरिएका बोरामा प्याकिङ गरेर ट्याक्टरमा लोड गर्ने कार्य त्यहाँ भइरहेको जो–कोहीले हेर्न÷देख्न सक्ने भएकाले कपिलवस्तुका सशस्त्र प्रहरीका एसपी नेत्र केसीको कार्यक्षमतामाथि प्रश्न उठेको छ ।
चामल उद्योग दर्ता गरेका ती व्यापारीले नेपालको बिल बनाएर बिक्रीका लागि ट्याक्टरमार्फत कपिलवस्तुको चार नम्बर, अर्घाखाँची, प्युठान, बुटवल र पाल्पा लगायत स्थानमा त्यो चामल पु¥याउने गरेको स्रोतको दाबी छ । कपिलवस्तुकै महाराजगन्ज र हर्दनाबाट कुखुरा तस्करी भइरहेको छ । तस्करले प्रहरी प्रशासनलाई आर्थिक प्रलोभनमा पारी तस्करी गरिरहेका छन् ।
यस क्षेत्रमा पनि चौबीसै घण्टा सुरक्षा फौज बस्ने गर्छ, तर तस्करले जिउँदादेखि काटेको कुखुराको मासु निर्वाध ओसारपसार गर्छन् । कृष्णनगरको दालपुर क्षेत्रबाट चिनी, खसी, माछा र रासायनिक मल तस्करी भइरहेको छ । तस्करले एउटा मोटरसाइकलमा चार वटासम्म बोरा राखेर रासायनिक मल ल्याउने गरेका छन् ।











