काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलवार सामाजिक सञ्जालमार्फत मिर्गौला बिरामीका लागि ८.५ लाख रुपैयाँसम्मको उपचार सहुलियत प्रदान गर्ने सरकारी निर्णय सार्वजनिक गरेका छन् । यो सुविधाले बिरामी र तिनका परिवारलाई ठूलो राहत पुग्ने उनले विश्वास व्यक्त गरे ।

यो सहुलियत प्राप्त गर्न बिरामीले अनिवार्य रूपमा सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनुपर्नेछ । प्रधानमन्त्री ओलीले आफ्नो पोस्टमा भनेका छन्, ‘यसका लागि स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य आबद्धता आवश्यक छ ।’
मिर्गौला रोगीका साथै सरकारले अन्य सात गम्भीर रोगका बिरामीका लागि पनि सहुलियतको व्यवस्था गरेको छ । क्यान्सर, मुटुरोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सन्स र अल्जाइमरका बिरामीले १ लाख रुपैयाँसम्मको उपचार खर्च प्राप्त गर्नेछन् । नेपालमा मिर्गौला, क्यान्सर र मुटुरोगको उपचार निकै महँगो छ । जसले गर्दा धेरै परिवार आर्थिक सङ्कटमा पर्ने गरेका छन्। यो निर्णयले ती परिवारलाई उल्लेखनीय राहत प्रदान गर्ने अपेक्षा गरिएको छ ।














